डेंगु देखापरेको १९ वर्षपछि सरकारले बनायो डेंगु रोकथाम र नियन्त्रणको कार्ययोजना

39

काठमाडौं : नेपालमा डेंगु देखा परेको १९ वर्षपछि सरकारले स्पष्ट वार्षिक कार्य योजना बनाइ लागू गरेको छ।सरकारले अहिलेसम्म डेंगु नियन्त्रण कार्यक्रम गर्दै आएपनि स्पष्ट वार्षीक कार्य योजना बनाइ लागू गरेको यो पहिलो पटक हो। यसअघि सरकारले डेंगु रोकथामका लागि वार्षिक कार्यक्रम गर्दै आएको थियो। यस पटक डेंगु नियन्त्रणका लागि स्पष्ट वार्षिक कार्य योजना बनाइ ७७ वटै जिल्लामा कार्यान्वयनका लागि पठाइसकेको छ।

सरकारले बनाएको कार्य योजनामा भेक्टर नियन्त्रण, लामखुट्टेको वृत्तिविकास रोक्ने उपाय, उपचार पद्धति, स्थानीय तह, रेडक्रस लगायतका स्वास्थ्यसँग सम्बन्धित संस्थाहरूको भुमिका बारेमा स्पष्ट पारिएको छ। बुधवार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख रुद्र मरासिनीले बढी जोखिम भएका ९२ वटा स्थानीय तहमा एक्शन प्लानसहित विशेष सर्कुलर जारी गरेको बताए।‘डेंगुको जोखिम बढ्नसक्छ भनेर केही कार्य योजना बनाएका छौं। यो वर्षको कार्य योजना बनीसकेको छ। कार्य योजनामा भेक्टर नियन्त्रण, लामखुट्टेको वृत्तिविकास कसरी रोक्ने ? उपचारमा केके गर्ने ? स्थानीय तहको भुमिका के हो ? रेडक्रसको भूमिका के हो ? भन्ने विषय समेटेका छौं’, मरासिनिले भने, ‘कार्य योजना ७७ वटै जिल्लामा पठाइसकेका छौं। बढी जोखिम भएका ९२ वटा पालिकामा एक्शन प्लानसहित विशेष सर्कुलर गरिसकेका छौं। बढी जोखिम भएका ठाउँहरू काठमाडौं ललितपुर,भक्तपुर चितवन र मकवानपुरका सरोकारवालाहरूसंग बसेर कार्यक्रम गरिसकेका छौं। उच्चस्तरीय डेंगु नियन्त्रण कमिटीमापनि छलफल गरेर निर्णयहरू गरेका हौं।’

डा. मरासिनीले नेपालमा सन् २००४ देखि हालसम्म १९ वर्षको अवधिमा ८३ हजार ६८१ जनामा डेंगु संक्रमण देखिएको बताए। उनले पछिल्लो तथ्यांक अनुसार असार ३० सम्म २ हजार ९ सय ३० जनामा डेंगु संक्रमण देखिएको उल्लेख गरे। उनले भने, ‘सन् २००४ देखि २०२३ सम्म १९ वर्षको अवधिमा ८३ हजार ६८१ जनामा डेंगु संक्रमण देखिएको छ। पछिल्लो तथ्यांक अनुसार असार ३० सम्म २ हजार नौ सय ३० जनामा डेंगु संक्रमण देखिएको छ।’मरासिनीले डेंगुको रोकथामका लागि संघ, प्रदेश र स्थानीय तहबीच समन्वय भइरहेको पनि बताए। सरकारको प्राथमिकता लामखुट्टे बस्ने ठाउँहरूको नष्ट गर्नु, घर आँगन, कार्यालय वरीपरी पानी जमेको ठाउँको नष्ट गर्नु रहेको बताए