काठमाडौं : भारतको जयनगरबाट जनकपुरधाम कुर्थासम्म सञ्चालित रेल सेवा विस्तार भई महोत्तरीको भंगाहा बिजलपुरासम्म सञ्चालन हुने भएको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले यो सेवा आइतबार शुभारम्भ गर्नेछन्। १५ महिनादेखि जयनगर–जनकपुरधाम–कुर्थासम्मको ३५ किलोमिटर रेल सञ्चालन हुँदै आएकोमा अब थप १७ किलोमिटरसमेत गरी ५२ किलोमिटर दूरीमा सञ्चालन हुने छ। दोस्रो चरणको भौतिक पूर्वाधार निर्माण भइसकेपछि सेवा बिजलपुरासम्म विस्तार गरेको रेलवेका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए। तर जग्गाको मुआब्जा विवादको कारण तेस्रो चरणको बिजलपुराबाट बर्दिबाससम्मको रेलवे पूर्वाधार निर्माण भने रोकिएको छ।१७ किलोमिटर भागको निर्माण सम्पन्न भएपछि भारतको इरकन कम्पनी लिमिटेडले नेपाल रेल्वे कम्पनीलाई गत जेठ १८ गते हस्तान्तरण गरेको थियो।ब्रोडगेज दुईसेट रेल २०७८ चैत १९ देखि सञ्चालनमा आएको थियो। शुरुमा एकपटक जनकपुरबाट जयनगर जाने र आउने सेवा दिँदै आएको रेल गत वर्ष मङ्सिरदेखि दुवै रेल दिनको दुईपटक आउने र जाने गरी सेवा दिइरहेको छ।