भक्तपुरमा तीन वर्षमा २१८ जनाले गरे आत्महत्या, आत्महत्या गर्नेमा पुरुष धेरै

73

भक्तपुर । जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार तीन वर्षमा २ सय १८ जनाले आत्महत्या गरेका छन् । चालु आर्थिक वर्ष २०७९/०८०को ११ महिनामा मात्रै ७१ जनाले आत्महत्या गरेको प्रहरीको तथ्यांकमा उल्लेख छ । जसमा विष खाएर १२ जना, भुण्डिएर ५९ जनाले आत्महत्या गरेका हुन् । यो वर्ष ५१ जना पुरुष, २३ जना महिला र २ जना बालबालिकाले आत्महत्या गरेको देखिन्छ ।

अघिल्लो आर्थिक वर्ष २०७८/०७९मा भक्तपुर जिल्लामा ८३ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी प्रजित केसीले जानकारी दिएको छन् । सो वर्ष विष खाएर १८ जना, भुण्डिएर ६२ जना, हाम फालेर २ जना र हातहतियारबाट १ जनाले आत्महत्या गरेका हुन् । उक्त आर्थिक वर्षमा ५५ जना पुरुष, २२ जना महिला र ४ जना बालबालिकाले आत्महत्या गरेको प्रहरीको तथ्यांकमा देखिन्छ ।
आर्थिक वर्ष २०७७/०७८मा ६४ जनाले आत्महत्या गरेका थिए । जसमा विष खाएर २२ जना, ४२ जनाले झुण्डिएर आत्महत्या गरेको देखिन्छ ।

आत्महत्या रोकथाम कसरी गर्ने ? 

मनोविद गोपाल ढकालका अनुसार
-आत्महत्या गर्ने अवस्थामा पुग्नुको पछाडि धेरै कारणहरू हुन सक्छन् । आत्महत्याको ९० प्रतिशत कारण भने मानसिक रोग नै भएको पाइन्छ । त्यसमा पनि डिप्रेसन मुख्य हो । क्षणिक आवेगमा आएर निर्णय लिने क्षमता गुमाउदा वा अत्याधिक जाँड, रक्सी, लागूँ पदार्थको सेवन तथा कडाखालका मानसिक रोग लागेर पनि व्यक्तिले आत्महत्या गर्न सक्छ ।

व्यक्तिले आत्महत्या आफ्नो ब्यक्तिगत कमजोरीका कारण गर्ने नभएर आनुवंशिक, मनोवैज्ञानिक, सामाजिक, साँस्कृतिक तथा अन्य जोखिमका तत्त्वहरूको संयुक्त प्रभावका कारण हुने गर्दछ । धेरै जस्तो केशमा आत्महत्याको प्रयास वा आत्महत्यालाई मानसिक रोगको एउटा लक्षणको रूपमा लिनुपर्दछ ।

जसरी कुनै कुनै शारीरिक रोगमा केही ब्यक्तिहरु उच्च जोखिमा हुन्छ । त्यसै गरि केही ब्यक्तिहरु मानसिक रोग र आत्महत्याको हिसाबले केहि उच्च जोखिममा हुन सक्छन । जस्तो मानसिक रोग डिप्रेसनमा रहेको , कुनै दुखद घटनाले धेरै प्रभावित, पटक पटक आत्महत्याको प्रयास गरेको, तनाब पुर्ण पेशामा भएकाहरु, पारिबारिक झै – झगडा , आर्थिक संकट भएका, बिरोजगार , लाँगू प्रदार्थक कुलतमा फसेका आदि । मानसिक रोग जोसुकैलाई लाग्न सक्दछ । मानसिक रोग र आत्महत्यालाई हाम्रो समाजले फरक रुपमा लिन्छ । फरक तरिकाले बुझ्छ । मानसिक रोगलाई पुर्ब जन्मको पाप र अपराध ठान्छ । देबि देवता कुल देवता बिग्रेको भन्छ । आत्महत्या गर्नेलाई समाजले पानी मरुवा, लाछीको उपमा दिन्छ । आत्महत्या गर्नेको अनुहार हेरियो भने अगति परिन्छ भनेर अनुहार लुकाउँदै र नाक खुम्चाउँदै हिँड्नेहरू पनि हाम्रो समाजमा भेटिन्छन् । आत्महत्या गर्नेको परिवारमा अरु व्यक्तिहरूको आउजाउ कम हुने तथा पानी बाराबारसम्म गरेको पाइन्छ । मानसिक रोग तथा आत्महत्याप्रतिको गलत बुझाई धारणा र सोचमा परिवर्तन आउन आवश्यक छ ।

“हरपल मरीमरी बाँच्नु भन्दा त एकैपलमा मर्न, मन लाग्न सक्छ, त्यही पललाई केही बेर त सहेर हेर, फेरि पनि बाँच्ने इच्छा जाग्न सक्छ” सत्य र स्वरूपराज आचार्यले गाएको गीतले भनेझै दुःख र निरासाको क्षणलाई धैर्य गरेर केहीबेर पर्खने हो भने त्यो पल बितेर जान्छ र आफ्नो आत्महत्याको सोच, निर्णय र विचारमा परिवर्तन आउनु सक्छ। त्यो थोरै समयमा आफूले गरेको धैर्यता र अरुबाट प्राप्त सहयोगले जीवन जोगिन सक्छ । तपाईले कसैलाई गर्नु भएको एक मिनेटको सहयोग वा तपाईको एक मिनेटको धैर्यता जीवन परिवर्तनका लागि पर्याप्त हुन सक्छ ।

संसार हिजो पनि सुन्दर थियो, आज पनि सुन्दर छ र भोलि पनि सुन्दर नै रहने छ , मात्र जीवनको घटनाक्रमले यो सुन्दर संसारमा टुवाँलो लागेको जस्तो मात्र भएको हो । धैर्य गरियो भने एक दिन त्यो टवालो फाँट्छ नै । जीवन परिवर्तनका लागि एक मिनेट नै पर्याप्त छ । जीवन रहे आफूले गरेको सबै गल्तीहरू सच्याउन सकिन्छ । गल्तीको प्रायश्चित गर्न सकिन्छ । तर आफ्नो अस्तित्व नै नास भएपछि आफूले गरेको अमूल्य जीवन त्याग्ने भुललाई प्रायश्चित गर्ने मौका समेत पाइदैन । आत्महत्या समस्याको समाधान हुँदै होइन र आत्महत्यालाई धेरै हदसम्म रोकथाम गर्न पनि सकिन्छ ।

आत्महत्याको प्रयास वास्तवमा सहयोगका लागि एक प्रकारको चित्कार नै हो । विशेष अवस्थामा बाहेक एउटा व्यक्तिले एकै पटक आत्महत्याको प्रयास गर्दैन । आत्महत्या गर्नु अगाडि विभिन्न किसिमका लक्षणहरू वा संकेतहरू देखाउने, व्यक्त गर्ने गर्दछ । यस्तो अवस्थामा उसले बेलैमा घरपरिवार, साथीसङ्गी वा विशेषज्ञको सहयोग पाएमा आत्महत्याको उसको सोच वा प्रयासलाई रोक्न सकिन्छ । खतराको सूचक, जोखिम र सुरक्षाका तत्त्व, स्वहेरचाह आदिको जानकारी भएमा आत्महत्यालाई रोकथाम गरी प्रत्येक जीवनलाई बचाउन सकिन्छ । यसका लागि हामी सबैको थोरै समय र सहकार्यले मात्र पनि धेरै ठूलो सहयोग पुर्याउन सक्दछ ।