Friday, October 23, 2026
Home समाचार भक्तपुरमा आयुर्वेदीक उपचारः एक वर्षमा २० हजारबढि बिरामीले लिए सेवा

भक्तपुरमा आयुर्वेदीक उपचारः एक वर्षमा २० हजारबढि बिरामीले लिए सेवा

71

भक्तपुर । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भक्तपुरमा चालु आर्थिक वर्षको असार २० गतेसम्म १९ हजार ८ सय ८० बिरामीले ओपिडी सेवा लिएका छन् । अन्य सेवा लिने विरामी संख्या निकै रहेको छ । केन्द्रका प्रमुख डा. नरेन्द्र प्रसाद गिरी भन्छन्, ‘केन्द्रमा दैनिक कम्तीमा एक सय जना बिरामी उपचारकालागि आउने वातावरण सक्रिय रहेको बताए ।आयुर्वेद स्वास्थ्य केन्द्रले अन्य अस्पतालमा आठ सय रुपैया पर्ने विशेषज्ञ चिकित्सकसहितको सेवा निःशुल्क रुपमा उपलव्ध गराएको हो । केन्द्रले पछिल्लो समय अकुपञ्चर, फिजियोथेरापीको सेवा निःशुल्क रुपमा उपलव्ध गराउँन थालेको हो ।

सेवा थप गरेसंगै केन्द्रमा उपचार गर्न आउँने बिरामीको शंख्या बढ्न थालेको छ । केन्द्रमा हाल दैनिक ९० जना भन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन् । केन्द्रले ओपिडि सेवा बाहेक स्तनपायी आमा, मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रमसहित नसर्ने रोगको पहिचानका लागि स्क्रिनिङ, योग साधनालगायतका सेवा समेत प्रदान गर्दै आइरहेको छ । केन्द्रले चालु आर्थिक वर्षमा करिव ७ हजार जनालाई त्यस्तो सेवा प्रदान गरेको जनाइएको छ ।

के-के छ अन्य सेवा ?
यस केन्द्रमा अन्य विभिन्न प्रकारका स्वास्थ्य सेवाहरु रहेको जुन अधिकाश निशुल्क रहेका छन् । केन्द्रमा नियमित सेवा अन्तर्गत बहिरंग सेवामा विशेषज्ञ आयुर्वेद चिकित्सकद्धारा बिरामी जाँच र परामर्श सेवा, पुर्वकर्म÷पञ्चकर्म सेवा अन्तर्गत हाडजोर्नी तथा नशा रोग, दम, पिनाश, टाउको दुखाई, माईग्रेन, अनिन्द्रा, तनाव, उच्चरक्तचाप लगायतका सेवा प्रदान गर्दै गर्ने गरिएको बताए ।

त्यसैगरी प्याथोलोजी ल्यावमा रगत, दिसा, पिसाव, खकार, वीर्यको परीक्षण, स्तनपायी आमा कार्यक्रम अन्तर्गत ६ महिनाभित्रका सुत्केरी आमालाई दुग्धवर्धक औषधिका साथै आवश्यक परामर्श सेवा, ज्येष्ठ नागरिक स्वास्थ्य प्रवद्र्धन सेवा अन्तर्गत ज्येष्ठ नागरिकहरुका लागि विशेष स्वास्थ्य सेवा प्याकेज प्रदान गर्दै आएको केन्द्रले जनाएको छ । केन्द्र बाहेक भक्तपुरमा दुई वटा आयुर्वेद औषधालय र तीन वटा नागरिक आरोग्य सेवा केन्द्रमार्फत आयुर्वेद स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको केन्द्रकी वैद्य शान्ता केसीले बताइन ।

कहाँ-कहाँ छ उपचार केन्द्र ?
चाँगुनारायण नगरपालिका वडा न. ७ बोगश्वरी, सूर्यविनायक नगरपालिका १० जोरपाटी र भक्तपुर नगरपालिका वडा न. ६ चोछेँमा नागरिक आरोग्य सेवा केन्द्रमार्फत सेवा प्रदान गर्ने गरिएको छ । त्यस्तै केन्द्र अन्तर्गतका आयुर्वेद औषधालय मध्यपुर थिमि वडा नं.१ लोहकिल्थली, खरिपाटी आयुर्वेद औषधालय चाँगुनारायण नगरपालिका ५, खरिपाटी र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र कमलविनायकबाट आयुर्वेद स्वास्थ्य सेवा उपलब्ध गराउदैं आएको छ ।

समस्या के छ ?
आयुर्वेद उपचार विधि र पद्धतिलाई सबैमाझ लान यस केन्द्रलाई बजेटको अभाव छ । एउटा अस्पतालको आवश्यकता तत्काल रहेको छ । जसकोलागि चाँगुनारायण नगरपालिका वडा नं. ७ मा जमिन खोजिसकिएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष राजु अधिकारीले पत्रकारहरुले पनि आयुर्वेदका बारेमा समाचार प्रकाशन गरी यसको प्रचार प्रसारमा सहयोग गर्नुपर्ने बताए । भक्तपुरमा आयुर्वेद अस्पताल सञ्चालनका लागि जग्गाको व्यवस्थापन अन्तिम चरणमा पुगेको र जग्गाको व्यवस्था हुनासाथ बागमती प्रदेश सरकारले अस्पतालको भवन निर्माण अघि बढाउने प्रतिवद्धता जनाएको अधिकारीको भनाई थियो ।