काठमाडौँ : नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले काँग्रेस शहरकेन्द्रित भएको भन्दै चिन्ता व्यक्त गरेका छन्। बुधवार काठमाडौंमा आयोजित प्रजातान्त्रिक विचार समाजको १२ औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै यादवले चिन्ता व्यक्त गरेका हुन्। उनले पूर्वप्रधानमन्त्री स्व. गिरिजप्रसाद कोइराला रहुन्जेलसम्म गाउँ गाउँमा पुगेर पार्टीका कुरा बुझ्ने चलन भए पनि अहिले बिस्तारै हराउँदै गएको दाबी गरे।
उनले अहिले केन्द्रीय समितिमा धेरै सदस्य रहे पनि त्यसको सही सदुपयोग हुन नसकेको बताए। उनले निर्वाचनका वेला आधा मात्रै केन्द्रीय सदस्यहरू जिल्लामा खटाएको भए निर्वाचनको नतिजा अर्कै हुने बताए। उनले भने, ‘काँग्रेस शहरकेन्द्रित मात्रै भयो। गिरिजाप्रसाद कोइरालाहरू गाउँकेन्द्रित हुनुहुन्थ्यो, केही समस्या भए उहाँ जिल्ला जिल्लामा जानुहुन्थ्यो, हामीलाई खटाउनुहुन्थ्यो। पहिला केन्द्रीय समितिमा ३०,३५ जना थियौँ, अहिले बथानै हुनुहुन्छ, कम सेकम आधालाई जिल्ला जिल्लामा खटाइदिए कम्तिमा एउटामा दुईजना पुग्थे। अरू पार्टीका पार्टीका सदस्यहरू ग्रासरुट गरिरहेका छन्। तपाईंहरू यहाँ बसिरहनु हुन्छ।’प्रथम राष्ट्रपति यादवले अरू पार्टीहरूले मिसन ग्रासरुट गरिरहँदा काँग्रेस भने शहरमा मात्रै केन्द्रित भइरहेको बताए।














