Saturday, October 24, 2026
Home अन्तर्राष्ट्रिय डोनल्ड ट्रम्प मङ्गलवार पक्राउ पर्ने

डोनल्ड ट्रम्प मङ्गलवार पक्राउ पर्ने

130

बीबीसी । स्टोर्मी ड्यान्यल्स नामक एक पोर्न स्टारलाई ठूलो रकम दिएको विषयमा गरिएको अनुसन्धानपछि लगाइएको अभियोगका कारण डोनल्ड ट्रम्प मङ्गलवार पक्राउ पर्ने सम्भावना छ। ट्रम्पले आफ्ना निजी वकिलमार्फत् ड्यान्यल्सलाई एक लाख ३० हजार डलर पठाएको आरोप छ। पक्राउ पर्नु र अदालतमा उपस्थित हुनु एक दिनअघि ७६ वर्षे पूर्वराष्ट्रपति सोमवार फ्लोरिडाबाट न्यूयोर्क पुगेका छन्।

फौजदारी अपराधमा मुद्दा खेप्ने उनी पहिलो (पूर्व) अमेरिकी राष्ट्रपति हुन्। तर उनीविरुद्ध कस्तो अभियोग लगाइएको छ त्यो स्पष्ट हुन बाँकी छ। ट्रम्पका वकिलहरूका अनुसार ट्रम्पले आफू दोषी नरहेको दाबी गर्ने बताइसकेका छन्। यस विषयसँग सम्बन्धित केही महत्त्वपूर्ण पक्षबारे यहाँ चर्चा गरिएको छ।

डोनल्ड ट्रम्पलाई कस्तो आरोप 
सन् २०१६ मा वयस्क चलचित्रकी अभिनेत्री स्टोर्मी ड्यान्यल्सले १० वर्षअघि ट्रम्पसँग आफ्नो ूव्यभिचारपूर्ण सम्बन्धू रहेको दाबी गर्दै सञ्चारसंस्थाहरूलाई सम्पर्क गरेकी थिइन्। उनी आफ्नो कथा बेच्न चाहन्थिन्। ट्रम्पको टोलीले त्यसबारे सुइँको पायो र उनका वकिल माइकल कोहेनले ड्यान्यल्सलाई मुख नखोल्ने सर्तमा १,३०,००० डलर भुक्तानी गरे। त्यसो गर्नु अवैध हैन। तर ट्रम्पले कोहेनलाई रकम सोधभर्ना गर्दा कानुनी शुल्क भन्ने अभिलेख राखियो। अभियोजनकर्ताहरूका अनुसार त्यसो गर्नु भनेको झुटो व्यापारिक अभिलेख राख्नु हो जुन न्यूयोर्कमा ुमिस्डिमीनरु ९अपराध० हो।
अभियोजनकर्ताहरूले ट्रम्पले त्यतिबेला निर्वाचन कानुन उल्लङ्घन गरेको आरोप पनि लगाउन सक्छन्। किनभने ड्यान्यल्सलाई दिइएको भुक्तानी लुकाउन खोज्नुको उद्देश्य राष्ट्रपति निर्वाचनका बेला मतदाताहरूले आफ्नो र ड्यान्यल्सबीच सम्बन्ध थियो भन्ने कुराको भेउ नपाऊन् भन्ने पनि हुनसक्छ। झुटो अभिलेख देखाएर अपराध ढाकछोप गर्नु ुफेलनीु अर्थात् अझ गम्भीर अपराध हो।

जे भए पनि यो त्यति स्पष्ट विषय भने हैन। त्यस्तो मुद्दाका लागि धेरै नजिर पनि छैन। निर्वाचन अभियानका लागि बनाइएको कोष र निजी खर्चको सीमा नाघेको आरोपमा नेताहरूलाई मुद्दा लगाउन खोजिएको प्रयासहरू पहिला पनि विफल भएका थिए।

ट्रम्पलाई अब के हुन्छ ? 
न्यूयोर्क सिटीका सरकारी वकिल एल्भिन ब्र्यागले ट्रम्पलाई अभियोग लगाउन मिल्नेगरी पर्याप्त प्रमाण छ कि छैन भनेर अनुसन्धान गर्न ग्र्यान्ड जूरी गठन गरे। ग्र्यान्ड जूरीले गत साता मुद्दा अगाडि बढाउने निर्णय गर्‍यो।

न्यूयोर्क सिटी अदालतका एक प्रवक्ताका अनुसार स्थानीय समयानुसार मङ्गलवार दिउँसो २ बजे ट्रम्पविरुद्ध विधिवत् अभियोग लगाइने छ। उनलाई आधिकारिक रूपमा अभियोग लगाइएको दस्ताबेज सार्वजनिक गर्नुअघि एक न्यायाधीशले ट्रम्पविरुद्ध लागेका अभियोगहरू पढेर सुनाउने छन्।