मलाई सफल प्रधानमन्त्री बन्नु छ

23

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबैको सामूहिक विवेक प्रयोग गरेर देशको आर्थिक सङ्कट समाधान गर्ने बताएका छन्। मुलुकमा देखा परेका आर्थिक सङ्कट समाधानका लागि आफूले केही दिनअघि मात्रै सरोकारवालाहरूसँग छलफल सुरु गरेको बताएका छन् । केही दिनभित्र ती समस्याको समाधान प्रक्रियासमेत अघि बढाउने उनले बताए ।

सोलुखोला–दूधकोकी जलविद्युत आयोजनाको मङ्गलवार काठमाडौँबाट उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले मुलुकभित्रै पेट्रोल उत्पादन छिट्टै हुने आश्वासनसमेत दिए। त्यसका लागि अध्ययन र अनुसन्धान धेरै अघि बढिसकेको उनको जिकिर थियो। ‘पेट्रोल र तेलकै कुरा गर्ने हो भने पनि यसको उत्पादनको सम्भावना पनि अब हामी धेरै अगाडि बढिसकेका छौँ अध्ययन, अनुसन्धानमा। र, छिट्टै तेल उत्पादन हामीले गर्न सक्छौँ भन्ने विश्वास बिस्तारै बिस्तारै बढ्दै पनि छ,’ उनले भने । आफूलाई असफल प्रधानमन्त्री हुने छुट नरहेको पनि उनले दोहोर्‍याए।

‘मैले प्रधानमन्त्रीका रूपमा यो पटक असफल हुने छुट बिल्कुल छैन। पूरै इमान्दारीसाथ, गम्भीरताका साथ देशका अगाडि देखा परेका समस्या समाधान गर्ने, देशको आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक रूपान्तरणको निम्ति सम्पूर्ण तागत लगाउनुको विकल्प छैन,’ उनले भने‚‘२ दिनअगाडि मात्रै मैले नेपाल राष्ट्र बैङ्क, अनि बैंकिङ एशोसिएशनसँग सम्बन्धित पदाधिकारी तथा लघु वित्त, सहकारीलगायत व्यवसायी सङ्घ, संस्थाका प्रतिनिधिहरूलाई राखेर छलफल सुरु गरेको छु। सबैको सामूहिक विवेक प्रयोग गरेर अहिले देखा परेका समस्याहरू समाधान गर्ने उपायहरू निक्लिँदै छन् र मलाई विश्वास छ–केही दिनभित्रै हामीले यो समस्या समाधानको प्रक्रिया अघि बढाउनेछौँ।’