एमाले महासचिव पोखरेलको आह्वानः वामपन्थी शक्ति एक हौं

67

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेभन्दा बाहिर रहेका सबै वामपन्थीलाई एकजुट हुन आह्वान गरेका छन् । यदु स्मृति प्रतिष्ठानले आज यहाँ आयोजना गरेको २४ औँ यदु स्मृति दिवस तथा २१ औँ यदु स्मृति पत्रकारिता पुरस्कार वितरण समारोहमा उनले वामपन्थी आन्दोलनले देशको स्वाधीनताको रक्षा, विकास र समृद्धिको नेतृत्व, सामाजिक न्याय र जनताका लागि सुरक्षित भविष्य निर्माण गर्ने सक्ने भएकोले वामपन्थी एकजुट हुन आह्वान गरे।‘सहिदको बलिदानलाई सम्झना गर्दै संकटबाट मुलुकलाई जोगाउनका लागि फेरि पनि देशभक्त, लोकतान्त्रिक शक्तिहरू, सामाजिक न्यायका पक्षधर शक्तिहरू धुव्रीकृत हुन जरुरी छ,’ उनले भने, ‘विगतमा हामीले नेताको टाउको जोडेर कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउने प्रयास गर्‍यौँ तर असफल भए अब हामी कार्यकर्ताका भावना जोड्न चाहन्छौँ ।’

महासचिव पोखरेलले देश बनाउनका लागि देशभक्ति आन्दोलन, परिवर्तन सामाजिक न्यायका पक्षमा विश्वास गर्ने, बलियो राष्ट्रिय शक्ति निर्माण गरी अगाडि बढ्नुपर्नेमा जोड दिए। उनले गलत मान्यताविरुद्ध सबै एकजुट हुन आवश्यक रहेको बताए । नेपालको मौलिक संस्कृतिलाई तहसनहस पार्न थालेको भन्दै त्यस खालको चुनौतीलाई सामना गर्न सके नेपालको समृद्धि असुरक्षित हुने उनले दाबी गरे । माले स्थायी कमिटी सदस्य यमलाल कँडेलले एमाले बलियो भएमात्रै यदु गौतमको सपना साकार पार्न सकिने बताए। उक्त अवसरमा महासचिव पोरखेलले गोरखापत्र दैनिकका पत्रकार लोकबहादुर चौधरी ९लक्की० लाई यस वर्षको यदु स्मृति पत्रकारिता पुरस्कार प्रदान गरे ।