सुदूरपश्चिमको मुख्यमन्त्री माओवादीले पाउने

56

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व माओवादी केन्द्रले पाउने वातावरण बनाउने आश्वासन दिएका छन् । बिहीबार सुदूरपश्चिमका माओवादी केन्द्रका नेताहरूसँगको भेटमा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले प्रदेशको नेतृत्व लिन शीर्ष तहमा सहमति जुटाउने आश्वासन दिएका हुन् ।

माओवादी केन्द्रका प्रदेश अध्यक्ष हरिप्रसाद चौधरीले सुदूरपश्चिमको नेतृत्व माओवादीले लिने सहमति भएको बताए । प्रधानमन्त्रीलाई भेट्न माओवादी केन्द्र सुदूरपश्चिम संसदीय दलका नेता तथा प्रदेश इन्चार्ज खगराज भट्ट, प्रदेशसभा सदस्य ओमविक्रम भाट लगायतका नेताहरू सिंहदरबार पुगेका थिए ।

सुदूरपश्चिम प्रदेश सरकारमा माओवादी केन्द्रको दाबी रहेको छ । एमाले माओवादीलाई नेतृत्व दिन लचक भएका बेला गठबन्धनकै अर्को घटक नागरिक उन्मुक्ति पार्टीले समेत दाबी गरेको छ । नागरिक उन्मुक्ति पार्टीले प्रदेशसभाको ठूलो दल नेपाली काँग्रेससँग पनि छलफल गरिरहेको स्रोतको भनाइ छ । तर माओवादी जसरी पनि नेतृत्व पाउनुपर्ने अडानमा छ ।