योजना आयोगको सदस्यमा राउत नियुक्त

77

काठमाडौँ । च्याउ वैज्ञानिक डा. जयकान्त राउत राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त भएका छन् । मन्त्रिपरिषद्को बैठकले उनलाई योजना आयोगको सदस्यमा नियुक्त गरेको हो ।

राउतले बिहीबार पद तथा गोपनीयताको शपथ लिएर कार्यभार सम्हालेका छन् । डाक्टर राउतले ललितपुरको फुल्चोकीबाट संसारकै लागि नयाँ प्रजातिको च्याउ पत्ता लगाएका थिए । उनले नास्टको फेकल्टी अफ साइन्सको बायोलोजिकल रिसर्च युनिटमा रहेर नेपालमा पाइने ढुसीलाई एकीकृत गरेर जानकारी दिने उद्देश्यले पहिलो पटक ढुसीको डेटाबेस निर्माणको काम गरेका थिए । नास्टमा रहँदा उनले उक्त डेटाबेस ७० प्रतिशत काम सम्पन्न गरेका थिए ।

नास्टमा वरिष्ठ वैज्ञानिक अधिकृतबाट राजीनामा दिएर डाक्टर राउत राजनीतिमा होमिएका थिए । गत प्रतिनिधिसभा चुनावमा उनले जनमत पार्टीको क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका थिए । राउतले १९ हजार ९९६ मत ल्याउँदै समाजवादी पार्टीका नबलकिशोर साहसँग पराजित भएका थिए । जनमत पार्टीका अध्यक्ष सीके राउतका आफ्नै दाजु जयकान्त राउतले योजनामा हुँदा आफूले विज्ञान, प्रविधि र कृषि क्षेत्रको विषय उठान गर्ने प्रतिक्रिया दिएका छन् ।