भूकम्पका कारण ९ हजार बढी ज्यान गयो

77

बीबीसी । टर्की र सिरियामा सोमवार गएको भूकम्पमा ज्यान गुमाउनेको सङ्ख्या ९,००० नाघेको छ। टर्कीको विपद्सम्बन्धी निकायका अनुसार त्यहाँ ज्यान गुमाउनेहरूको सङ्ख्या ६,९५७ रहेको छ। सिरियामा मृतकको सङ्ख्या पुष्टि गर्न कठिन भइरहेको छ तर सरकारी सञ्चारमाध्यमहरूले करिब २५ सय जनाले ज्यान गुमाएको उल्लेख गरेका छन्। विद्रोहीहरूको नियन्त्रणमा रहेको क्षेत्रमा सक्रिय ह्वाइट हेल्मेट रेस्क्यु ग्रुपले मृतकको सङ्ख्या १,२८० भन्दा बढी पुगेको जनाएको छ।

सहायता संस्थाहरूले भग्नावशेषमा पुरिएका व्यक्तिहरूलाई जीवितै भेटाउने सम्भावना कम हुँदै गएको बताइरहेका छन्।मृतकको सङ्ख्या अझै बढ्न सक्ने चेतावनी दिइएको छ। अत्यधिक चिसोका बाबजुद रातको समयमा समेत खोजी प्रयासहरू जारी रहँदा भग्नावशेषमुनि बाँचेकाहरूलाई भेट्ने समय कम हुँदै गएको छ।
सर्वाधिक प्रभावित टर्कीका सहरहरूमध्ये एकमा भूकम्पका कारण भत्किएका आवासीय भवनहरूमा बस्ने पीडितका आफन्त नै अङ्कुशलगायत विभिन्न औजार लिई उद्धार कार्यमा खटिएका छन्।

टर्कीमा सोमवार बिहान पहिलो पटक ४ बजेर १७ मिनेटमा ७.८ म्याग्निट्यूडको भूकम्प गएको थियो। त्यसको केही घण्टापछि ७.५ म्याग्निट्यूडको भूकम्प गयो।

उद्धार कार्य कति प्रभावकारी 
केही स्थानमा उद्धार कार्य ढिला भएको पीडित परिवारले गुनासो गरेका छन्। टर्कीका प्रायः सरकार पक्षधर सञ्चारमाध्यमहरूले स्थानीयवासी र विभिन्न टोलीहरूले चिसो र वर्षासँग जुध्दै उद्धारको प्रयास गरिरहेको जनाएका छन्। तर भूकम्पबाट प्रभावित प्रान्तहरूमा सामाजिक सञ्जालका प्रयोगकर्ताहरूले सरकारको प्रयास अपर्याप्त भएको जनाइरहेका छन्। धेरैले ट्विटरमार्फत मद्दतको आग्रह गरेका छन्। उनीहरूले आफ्ना आफन्तहरू भग्नावशेषमुनि रहेको र भूकम्प गएदेखि सहायता नपाएको बताएका छन्।

भूकम्प अघि र पछिको दृश्य
नेपालको बारा जिल्ला घर भई हाल गाजीयान्टेप विश्वविद्यालयमा इलेक्ट्रिकल इन्जिनियरिङ अध्ययनरत विद्यार्थी शकिल शेखले राहत वितरण तथा उद्धार प्रणालीमा समस्या रहेको बीबीसीसँग बताएका छन्।

उनले नेपाली विद्यार्थीहरूलाई स्थिति सामान्य नबनेसम्म केही समयका लागि अन्य सुरक्षित सहरमा सारिदिन समेत अपिल गरेका छन्। यद्यपि, अहिले प्रभावित क्षेत्रमा अन्तर्राष्ट्रिय सहायता पनि बढाइएको बताइएको छ। यूके, अमेरिका, चीन र रुसलगायत धेरै देशले खोज र उद्धार विज्ञहरू सहित सहायता प्रदान गरिरहेका छन्।

महत्त्वपूर्ण पूर्वाधारमा क्षति
भूकम्पका कारण टर्कीको इस्केन्दरुन बन्दरगाहमा आगलागी भएको थियो। अहिले आगो निभाइएको अधिकारीहरूले बताएका छन्। त्यहाँ रहेका कयौँ ढुवानी गर्ने कन्टेनरमा आगो लागेको थियो। आगलागी नियन्त्रणका लागि विमान तथा हेलिकप्टर प्रयोग गरिएको थियो। प्रमुख ढुवानी कम्पनीहरूले त्यस क्षेत्र नजिकका अन्य बन्दरगाहहरूमा जहाज डाइभर्ट गर्न थालेका थिए।