काठमाडौं । ठमेललाई सफा र व्यवस्थित बनाउन ठमेल पर्यटन विकास परिषद्ले जथाभावी छरिएर रहेका इन्टरनेटका तार काट्न सुरु गरेको हो । राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलभित्रको अवस्थित इन्टरनेटका तार काट्न सुरु गरिएको छ । परिषद्ले सातघुम्ती हुँदै सोह्रखुट्टे, क्वाःबहाल हुँदै ज्याठा, नरसिंह चोक हुँदै भगवती मार्गलगायतका क्षेत्रमा तार व्यवस्थापन कार्य सुरु गरेको परिषद्का अध्यक्ष भविश्वर शर्माले जानकारी दिए । नेपाल भ्रमणका लागि आउने ८० प्रतिशत व्यक्ति ठमेल घुम्न आउने गरेका छन् । ठमेल काठमाडौँ महानगरपालिकाको वडा नं १६, १७, २६ र २९ वडाभित्र पर्दछ । ठमेल पर्यटन परिषद्भित्र दुई हजार दुई सय व्यवसायी तथा घरधनी आबद्ध छन् ।