भक्तपुरमा नवनिर्वाचित जनप्रतिनिधिहरुसंग अन्तरक्रिया सम्पन्न

81

भक्तपुर । अबको पाँच वर्षमा भक्तपुरलाई कस्तो बनाउने भन्ने विषयमा प्रतिनिधि सभा तथा प्रदेश सभामा नवनिर्वाचित सांसद र पत्रकारहरुबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय सञ्चार केन्द्र भक्तपुर मा आयोजित कार्यक्रममा उपस्थित जनप्रतिनिधिहरुले राजनीतिक आस्था र विचारबाट माथि उठेर जनताको समस्या समाधानमा सबैसँग हातेमालो गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

कार्यक्रममा बोल्दै भक्तपुर क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले चुनावसँगै राजनीतिक प्रतिस्पर्धा सकिएको भन्दै आफ्ना प्रतिस्पर्धी तथा अघिल्ला कार्यकालका सांसदहरुको अनुभवलाई पनि ग्रहण गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । संविधानले परिकल्पना गरेको तीनै तहको सरकारको अधिकार क्षेत्रलाई सम्मान गर्दै आफूले समन्वयकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।
त्यस्तै, भक्तपुर क्षेत्र नं २ (क) बाट निर्वाचित प्रदेशसभा सांसद किरण थापामगरले यो कार्यकालमा क्षेत्रको विकास र बन्न नसकेका कानुनको निर्माणमा केन्द्रित हुने प्रतिबद्धता व्यक्त गरे । वाग्मती प्रदेशमा ८४ वटाभन्दा धेरै कानुन बनाउनुपर्नेमा अघिल्लो कार्यकालमा ३८ वटा मात्रै कानुन बनेको भन्दै ती अधुरा कामहरु यो कार्यकालमा पूरा हुने बताए ।

उनले यस क्षेत्रमा पर्याप्त अस्पताल हुँदाहुँदै पनि उपचारको लागि काठमाडौं जानुपर्ने समस्या समाधान गर्ने, मेलम्ची खानेपानीलाई व्यवस्थित ढंगले उपभोक्ताको घरघरसम्म पुर्याउने व्यवस्था गर्नको लागि केन्द्र र स्थानीय तहसँग प्रदेशको समन्वय गराउने काम आफूले गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा बोल्दै राष्ट्रिय सञ्चार केन्द्रका अध्यक्ष पेशल आचार्यले अन्तर्क्रिया कार्यक्रमले अबको पाँच वर्ष जनप्रतिनिधिहरुले कसरी काम गर्छन् भन्ने बुझ्न सहयोग गरेको प्रतिक्रिया दिए । आचार्यले जनप्रतिनिधिको सकारात्मक काममा सहयोग र गलत काममा खबरदारी गरिरहने भन्दै रचनात्मक तरिकाले जनताको म्याण्डेड अनुसार काम गर्न जनप्रतिनिधिहरुलाई आग्रह गरे । कार्यक्रममा भक्तपुर क्षेत्र नं २(क)का सांसद किरण थापामगर, भक्तपुर क्षेत्र नं २ (ख०)ा सांसद डा. राजेन्द्रमान श्रेष्ठ, भक्तपुर क्षेत्र नं (क)का सांसद सुरेश श्रेष्ठ, चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री लगायतको उपस्थिति रहेको थियो ।