काठमाडौँ । चीनमा ६.८ म्याग्निच्युडको भूकम्प गएको छ । दक्षिणप्रश्चिम चीनको सिचुवान प्रान्तस्थित लुडिङ काउन्टीमा ६.८ म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्पमा परी सात जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । भूकम्पबाट भएको मानवीय क्षति र भौतिक संरचनाको विस्तृत विवरण आउन बाँकी छ । स्थानीय समयअनुसार १२ बजेर ५२ मिनेटमा लुडिङ काउन्टीभन्दा ३९ किलोमिटर टाढाको स्थललाई केन्द्रबिन्दु बनाएर भूकम्प भएको चाइना भूकम्प नेटवर्क सेन्टरले जनाएको छ ।
भूकम्पको धक्का केन्द्रबिन्दुबाट दुई सय २६ किलोमिटर टाढा रहेको सिचुवान प्रान्तको राजधानी चेङदुमा पनि महसुस गरिएको थियो । राष्ट्रिय आपतकालीन प्रतिकार्य तथा उद्धार कार्यालयले उद्धार एवम् सहायताकर्मी भूकम्प प्रभावित क्षेत्रमा परिचालन भएको जनाएको छ ।