काठमाडौँ । काठमाडौँ महानगरले त्रिपुरेश्वरको राहदानी विभाग अगाडि रहेको भवनको वेसमेन्टमा सञ्चालन भइरहेका रेष्टुरेन्ट तथा अन्य व्यवसायहरू हटाउन निर्देशन दिएको छ।
महानगर प्रहरीसहित पुगेको महानगरको टोलीले आज दिएको निर्देशनपछि रेष्टुरेन्टले आफ्ना सामग्री हटाउन सुरु गरेको महानगर नगर प्रहरी प्रमुख राजु पाण्डेले बताएका छन्। काठमाडौँ महानगरले वेसमेन्ट खाली गराउने अभियानलाई आज पनि निरन्तरता दिएको हो।
मंगलबार हरितालिका तीज भएको कारण रोकिएको पाण्डेले बताएका छन्। उनका अनुसार भवनको नक्सा अनुसार प्रयोजन नभएको वेसमेन्टहरू हटाउन थालिएको हो।त्यसलगत्तै महानगरको टोली नारायण चौर सेन्ट्रल प्लाजाको अन्डरग्राउण्ड हेर्न पुगेको थियो। सेन्ट्रल प्लाजा सञ्चालकले स्वीकृत नक्सामा पार्किङ नभएको दावीसहित नक्सा देखाएको थियो। सेन्ट्रल प्लाजाले देखाएको नक्सा र महानगरको नक्सा विभागमा रहेको सो भवनको नक्सा तुलना गरेर मात्र निर्णयमा पुग्ने भन्दै महानगरको टोली कारबाही बिना नै फर्किएको छ।