पार्टीका मन्त्री हेरफेर गर्ने निर्णय : उपेन्द्र यादव

79

काठमाडौं । जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले पार्टीका तर्फबाट सरकारमा रहेका मन्त्रीहरू हेरफेर गर्ने निर्णय भइसकेको बताएका छन्। यादवले मन्त्रीहरू फेर्ने निर्णय भए पनि कहिले फिर्ता बोलाउने र उनीहरूको ठाउँमा कसलाई पठाउने भनेर निर्णय नभएको बताए। मन्त्रीहरू फिर्ता हुने भनेर पार्टीले निर्णय गरिसकेको छ। अब कहिले र कसलाई पठाउने भनेर छलफल गर्छौं,उनले भने।

जसपाको तर्फबाट सरकारमा संघीय मामिला मन्त्री राजेन्द्र श्रेष्ठ, भौतिक पूर्वाधार मन्त्री रेणु यादव, कृषि मन्त्री महिन्द्र यादव र वन मन्त्री रामसहाय प्रसाद यादव सहभागी छन्। गत असोजमा सरकारमा सहभागी हुने क्रममा जसपाका मन्त्रीहरूलाई ६ महिनामा फिर्ता बोलाउने सहमति पार्टीमा भएको थियो। त्यसकै आधारमा नयाँ मन्त्रीहरू चयन गर्नुपर्ने दबाब यादवलाई छ।

केही दिनअघि नेकपा एकीकृत समाजवादीले पार्टीका मन्त्रीहरू हेरफेर गरेको थियो। पछिल्लो समय जसपामा विवाद चुलिँदै गएपछि पार्टी फुटको संघारमा पुगेको छ। यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई सौहार्दपूर्ण वातावरणमा छुट्टिन तयार भएका छन्।