Thursday, October 1, 2026
Home राजनीति स्वास्थ्यसम्बन्धी दुई विधेयक राष्ट्रिय सभाबाट ‘फास्ट ट्रयाक’मा पारित

स्वास्थ्यसम्बन्धी दुई विधेयक राष्ट्रिय सभाबाट ‘फास्ट ट्रयाक’मा पारित

105

काठमाडौं। राष्ट्रिय सभाबाट स्वास्थ्यसम्बन्धी दुई वटा विधेयक ‘फास्ट ट्रयाक’मा पारित भएको छ ।आइतबार बसेको बैठकले स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले प्रस्तुत गरेको ‘औषधि तेस्रो संशोधन विधेयक र ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी पहिलो संशोधन विधेयक २०७९ सर्वसम्मतिले पारित गरेको हो ।

यी दुबै विधेयक प्रतिस्थापन् विधेयक हुन् । कोरोना भाइरसको महामारीलाई ख्याल गरेर तत्कालीन सरकारले ल्याएको अध्यादेधलाई प्रतिस्थापन् गर्न वर्तमान सरकारले विधेयक ल्याएको हो । संसदको चालु अधिवेशनको अवधि कहिलेसम्म जान्छ भन्ने यकिन नभएकाले फास्ट ट्रयाकमा पारित गरेर प्रतिनिधिसभामा पठाइएको राष्ट्रिय सभा सचिवालयले जनाएको छ ।राष्ट्रिय सभाबाट पारित औषधि तेस्रो संशोधन विधेयकमा कोरोना भाइरस महामारीको समयमा आपत्तकालीन औषधि प्रयोग गर्ने सम्बन्धी व्यवस्था छ ।

आपत्तकालीन औषधि प्रयोग गर्दा पनि त्यो गुणस्तरीय र विश्व स्वास्थ्य संगठनले मान्यता दिएको हुनुपर्ने भनी नेकपा एकीकृत समाजवादीका सांसद बेदुराम भुसाल र कांग्रेसका सांसद प्रकाश पन्थले संशोधन प्रस्ताव हालेका थिए ।स्वास्थ्यमन्त्री खापुङले सांसदद्वयको माग अनुसार कानुनी व्यवस्था गर्ने प्रतिबद्धता जनाएपछि दुबै सांसदले संशोधन फिर्ता लिए । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी पहिलो संशोधन विधेयकमा भने तीन समुहमा ९ वटा संशोधन प्रस्ताव दर्ता भएको थियो ।

स्वास्थ्यमन्त्री खापुङले सांसदहरुको माग अनुसार विधेयकलाई समृद्ध बनाउने प्रतिबद्धता जनाए । अन्य सम्बन्धित ऐन संशोधन गर्दा र नियमावलीमा समेत सांसदहरुले उठाए विषय समेट्ने प्रतिबद्धता मन्त्री खापुङले जनाए ।त्यसपछि तीन वटै समूहले संशोधन फिर्ता लिए । राष्ट्रिय सभाले पनि सर्वसम्मत रुपमा विधेयक पारित गर्‍यो । अब यी दुबै विधेयक प्रतिनिधि सभामा जान्छ । प्रतिनिधि सभाले पनि पारित गरेपछि सभामुख हुँदै राष्ट्रपतिकहाँ पुगेर प्रमाणीकरण भएपछि दुबै विधेयकले ऐनको रुप लिनेछ ।