झापा : जिल्लाको भद्रपुर– ८ स्थित सदरमुकामको मुटुमा रहेको महेन्द्र पार्क चन्द्रगढीमा स्वर्गीय राजा महेन्द्रको अर्धकदको शालिक पुन:स्थापनाको विषयमा विवाद देखिएको छ।२०६२/०६३ को दोस्रो जनआन्दोलनको क्रममा शाही शासनको अन्त्यका लागि संयुक्त सात राजनीति दलको आह्वानमा सदरमुकाम घेराउको क्रममा प्रदर्शनकारीहरुले महेन्द्र पार्कभित्र राखिएको महेन्द्रको शालिक तोडफोड गरी भत्काएका थिए।त्यसबेला सेनाको गोली लागेर सुरज विश्वास र राजन गिरीको ज्यान गएको थियो। राजतन्त्र ढलेर मुलुकमा गणतन्त्र, लोकतन्त्र स्थापन भएपछि तत्कालीन जिल्ला विकास समिति हाल जिल्ला समन्वय समिति झापाले महेन्द्र पार्कको नाम परिवर्तन गरी शहीद पार्क नामकरण गर्यो। त्यसपछि समन्वय समितिले पार्कको जिम्मा नगरपालिकालाई लगाउने निर्णय गर्यो।नगरपालिकाको स्वामित्वमा आएपछि यस पार्कलाई हाल बाल उद्यम पार्क भनेर चिन्न थालिएको छ। पार्कभित्र बालबालिकाको मनोरञ्जनका लागि नगरपालिकाले स्थानीय संघसंस्थासँग सहकार्य गरी विभिन्न खेल सामग्री राखेको छ।नगरपालिकाले पार्कभित्र विभिन्न खेल सामग्री राखे पनि शालिक राखिएको स्थानमा नेपालको राष्ट्रिय झन्डा मात्र राखिएको थियो।१६ वर्षपछि अहिले आएर महेन्द्र पार्कमा पुनः राजा महेन्द्रको अर्धकदको शालिक राख्ने कार्यक्रम लगभग तय भइसकेको थियो। बिर्तामोडका जयनारायण ढुङ्गानाले त्यस कामको लागि आर्थिक सहयोग गर्न खोजेका थिए।स्थानीय सरकार र प्रशासनसँग समन्वय नगरी महेन्द्र शालिक पुन:स्थापना समितिले यही जेठ २१ गते शनिबार शालिक पुन:स्थापना गर्ने कार्यक्रम रहेको भनी व्यापक प्रचारप्रसार गरेपछि विवाद सतहमा पुगेको हो।














