मुख नहेरी रूखलाई हेरेर मतदान गर्न आग्रह….विश्वप्रकाश शर्मा

154

बैशाख १५,

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय तह निर्वाचनमा कांग्रेसको उम्मेदवारको मुख नहेरी रूखलाई हेरेर मतदान गर्न नेता, कार्यकर्ताहरूलाई आग्रह गरेका छन्। बिहीबार काठमाडौंमा आयोजित नेपाली कांग्रेस रामेछापको सुनापती गाउँपालिका केन्द्रित चुनावी अभियानको भेलालाई सम्बोधन गर्दै महामन्त्री शर्माले कांग्रेसको उम्मेदवारहरूको मुख नहेरी रुख चिन्हमा मतदान गर्न नेता, कार्यकर्ताहरूलाई आग्रह गरेका हुन्। उनले जो–जो व्यक्ति भएको भए पनि रूख चिन्ह लिएर उठेको कांग्रेसको उम्मेदवार भएको उल्लेख गर्दै व्यक्तिमा असन्तुष्टि भए पनि कांग्रेस पार्टीलाई मत दिनुपर्ने बताए। उनले पार्टीलाई व्यवस्थित बनाउनका लागि आफूहरू लागिरहेको पनि जानकारी दिए। ‘नेपाली कांग्रेस पार्टीलाई पुरातनबाट आधुनिक बनाउन जाँदै गर्दाखेरि कांग्रेसले क्रियाशील सदस्यको व्यवस्थापनको विधिलाई, भ्रातृ संस्थाहरूको व्यवस्थापन गर्नुपर्ने र उम्मेदवार चयनको प्रक्रियाको सन्दर्भमा एउटा नविन शैलीलाई निरूपण गर्नुपर्ने, नविन शैलीलाई अख्तियार गर्नुपर्ने अवस्था छ’, उनले भने, ‘ हामीले केही अप्ठ्यारो पनि ब्यहोरिरहेका छौँ।

त्यसकारण देशभरी जो उम्मेदवार बन्नुभएको छ, तपाईले चाहे बमोजिम बन्नुभएको छ। मापदण्ड पुर्‍याएर उम्मेदवार चयन भएको छ त्यो पनि नेपाली कांग्रेसको उम्मेदवार। कतिपय ठाउँमा प्रक्रिया मिलेन भन्ने भइरहेको छ भने उहाँपनि नेपाली कांग्रेसको उम्मेदवार। त्यसैले म अपिल र आग्रह गर्न चाहान्छु देशभरीका साथीहरुलाई उम्मेदवारी दर्ता भइसकेर टुंगोमा पुगिसकेको यो बेलामा अब मुख हेर्ने होइन रुख हेर्ने हो र नेपाली कांग्रेस पार्टीलाई विजयी बनाउनका लागि एकढिक्का भएर लाग्न म अपिल र आग्रह गर्न चाहान्छु।’महामन्त्री शर्माले दश वर्षमा देशलाई बिजुली बेचेर धनी बनाउने सपना कांग्रेसको रहेको बताए। उनले एमसीसी परियोजना सफल भएर दश वर्षमा हरेक नेपालीको चुल्होमा बिजुलीले खान पकाउन सक्ने अवस्था आउने पनि उल्लेख गरे। काठमाडौंको सडकमा डिजेल र पेट्रोलको गाडीहरुलाई विस्थापित गरेर विद्युतिय गाडी बिस्तार गरिने पनि उनको भनाई छ। उनले भने, ‘युवालाई विदेशमा बेचेर होइन। बिजुली बेचेर यो देशलाई धनी बनाउन चाहान्छौँ भन्ने सपनातर्फ नेपाली कांग्रेसले लागिरहेको छ।’