अम्बे स्टिल्स्‌लाई एक महिनाभित्रमा ३५ मेगावाट विद्युत् दिन पूर्वाधार निर्माण

78

फागुन २९,

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले बाँकेको नेपालगञ्ज क्षेत्रमा सञ्चालित अम्बे स्टिल्स उद्योगलाई एक महिनाभित्रमा करिब ३५ मेगावाट विद्युत् दिने भएको छ। प्राधिकरणले अहिले उक्त उद्योगलाई करिब आठ मेगावाट विद्युत् आपूर्ति गरिरहेको छ। उद्योगले क्षमता विस्तारका लागि थप २७ मेगावाट विद्युत् माग गरेको छ। प्राधिकरणले उद्योगसम्म विद्युत् पुर्‍याउन आवश्यक संरचनाको निर्माण गरी एक महिनाभित्रमा मागअनुसार नै विद्युत् दिन लागेको हो।

उद्योगसम्म विद्युत् पुर्‍याउन कोहलपुर सबस्टेसनबाट ३३ केभी डबल सर्किट प्रशारण लाइन निर्माण अन्तिम चरणमा पुगेको छ। उद्योगले पनि थप विद्युत् आपूर्ति लिन आफ्नो परिसरमा सबस्टेसन निर्माण र कारखानाको क्षमता विस्तारलाई काम अन्तिम चरणमा पुर्‍याएको बताएको छ।प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वको टोलीले शनिवार स्थलगत अवलोकन गरी नेपालगञ्ज तथा कोललपुर औद्योगिक क्षेत्रमा सञ्चालित र आगामी दिनमा खुल्न सक्ने उद्योगहरूलाई विद्युत् आपूर्ति गर्न निर्माण गर्नु पर्ने विद्युतीय पूर्वाधारका विषयमा छलफल गरेको छ। टोलीले नेपालगञ्ज क्षेत्रमा सबैभन्दा बढी विद्युत् खपत गर्ने अम्बे स्टिल्स्‌को भ्रमण गरी एक महिनाभित्र विद्युत् आपूर्ति लिने गरी आफूले गर्नुपर्ने सम्पूर्ण पूर्वतयारीका काम सक्न उद्योग व्यवस्थापनलाई आग्रह गरेको छ।

घिसिङले अम्बे स्टिल्स् सञ्चालित क्षेत्रमा अन्य उद्योग पनि खुल्ने र उक्त क्षेत्र औद्योगिक करिडोरका रुपमा विकास हुन लागेकाले त्यहाँ १३२ केभीको सबस्टेसन निर्माणको प्रक्रिया अगाडि बढाइएको बताए। सबस्टेसन निर्माणका लागि जग्गा अधिग्रहण सुरु गरिएको छ। एसियाली विकास बैंकसँग सहुलितपूर्ण ऋण सम्झौता भइसकेको छ। अहिले रहेको पूर्व–पश्चिम १३२ केभी प्रसारण लाइनबाट करिब १० किलोमिटर चार सर्किट १३२ केभी लाइन बनाएर १३२ केभीको सबस्टेसनमार्फत आगामी दिनमा उद्योगहरुलाई विद्युत् आपूर्ति दिइने छ। कोहलपुर क्षेत्रका औद्योगिक तथा घरायसी ग्राहकलाई भरपर्दो, गुणस्तरीय र चाहिएजति विद्युत् दिन हाल रहेका वितरण प्रणालीको क्षमतालाई दोब्बर बनाउन लाइन र ट्रान्सफर्मर थप गर्ने योजनाअनुरुप काम भइरहेको कोहलपुर वितरण केन्द्रका प्रमुख सुरज रेग्मीले बताए।