सूर्यविनायकमा उदारणीय बन्दै गुण्डू स्वास्थ्य चौकी

508

जेठ १५,
भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नं. ७ स्थित गुण्डू स्वास्थ्य चौकीले कोरोना रोकथाम र नियन्त्रण कार्यसँगै गैरकोरोनाका सङ्क्रमितको उपचारमा नियमित रूपमा सेवा प्रवाह गर्दै आएको छ । स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीहरुले स्वास्थ्य चुनौति मोलेरै भए पनि बिरामीको सेवामा क्रियाशिल रहँदै आएका छन् । कोरोनाको दोस्रो लहरको प्रारम्भदेखि नै स्वास्थ्य चौकीले महामारी न्युनिकरणको लागि वडा कार्यालयसँगको सहकार्यमा सेवा प्रवाह, सचेतना फैलाउने र कोरोना रोकथाम तथा न्यूनिकरण कार्य गर्दै आएको छ । स्वास्थ्य चौकीले आफ्नो क्षेत्रमा रहेका सबै बिरामीहरुको सूची तयार गरी अभिलेख राख्ने, उहाँहरुलाई उचित परामर्श प्रदान गर्ने , विभिन्न माध्यमबाट कोरोना रोकथामका लागि सचेतना फैलाउने, होमआइसोलेसनमा बसेका बिरामीहरूको लागि आवश्यक भिटामिन तथा औषधि, मास्क, सानीटाइजर र थर्मोमिटर उपलब्ध गराइरहेको छ ।
त्यस्तै कोरोनाका सङ्क्रमणका बेला गैरकोरोनाका बिरामीलाई आवश्यक स्वास्थ्य सेवा र परामर्श प्रदान गर्ने, ज्येष्ठ नागरिक, बालबालिकालाई कोरोना सङ्क्रमणबाट र संभावित मौसमी रोगबाट बच्च आवश्यक परामर्श प्रदान गर्ने लगायतका कार्य गर्दै आएको गुण्डू स्वास्थ्य चौकीका इन्चार्ज राजिव महतोले जानकारी दिनुभयो ।
उहाँका अनुसार हालसम्म ९४ जना सङ्क्रमित मध्ये ४० जना निको भइसकेका छन् । जसमध्ये ५२ जना होमआइसोलेशन बसेका र २ जना अस्पतालमा उपचार गराइरहेका छन् । स्वास्थ्य चौकीले नियमित रूपमा बिरामीहरुलाई फोन सपर्क गरि स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिने र उचित परामर्श दिने काम गरिरहेको छ । स्वास्थ्य चौकीले बिरामीको सम्पर्कमा रहेको अन्य ब्यक्तिहर्लाई पनि परिक्षण को लागि सहजीकरण गर्ने गरेको छ ।

सूर्यविनायक नगरपालिका वडा नं. ७ का वडाध्यक्ष रबिन्द्र सापकोटाले स्वास्थ्य चौकीले अस्पतालकै रुपमा सेवा प्रदान गर्न नसकिए पनि कोरोना सङ्क्रमित र अन्य बिरामीलाई समयमै उचित स्वास्थ्य परामर्श प्रदान गर्न सकियो भने पनि बिरामीको स्वास्थ्य अवस्था जटिल हुनबाट जोगिने बताउनुभयो । उहाँले अहिले गुण्डू स्वास्थ्य चौकीबाट कोरोना सङ्क्रमित र अन्य बिरामीलाई उचित परामर्श लगायत अन्य सेवा प्रदान गर्दै आएको बताउनुभयो ।

कोरोनाका सङ्क्रमणसँगै स्वास्थ्य चौकीमा अहिले अन्य बिरामीको चाप बढेको स्वास्थ्य चौकीले जनाएको छ । बिरामीले निशेधाज्ञाले अन्य अस्पतालमा जान नसक्ने भएकाले स्वास्थ्य चौकीले प्रदान गर्ने सामान्य स्वास्थ्य उपचार, खोप सेवा, परिवार नियोजन सेवा , ल्याब सेवा, एम्बुलेन्स , क्षयरोग लगायत अन्य सबै सेवा नियमित गर्दै आएको छ ।
कोरोना र अन्य रोगको उपचार गर्ने कार्य ठूला अस्पतालको भूमिका आफ्नो ठाउँमा सकारात्मक भए पनि गुण्डू स्वास्थ्य चौकी जस्तै देशभर छरिएर रहेका स्वास्थ्य चौकीले गरेका कार्य आफैंमा सराहनिय छ । नागरिकको नजिकमा रहेका स्वास्थ्य चौकीले यस्तै गरी सेवा प्रदान गर्दै जाने हो भने ठूला अस्पतालमा स्वतः बिरामीको चाप कम हुने र ती अस्पतालमा जटिल प्रकृतिका बिरामीले उपचार गर्न अवसर प्राप्त गरी बिरामीले नवजिवन प्राप्त गर्न सक्छन् ।

५२१ जनाले लगाए खोप
गुण्डूमा भेरोसिल ( चाइनिज ) खोप लगाउने कुल सङ्ख्या ५२१ जना रहेका छन् । जेठ ४ देखि गतेदेखि जेठ ११ गतेसम्म गुण्डू स्वास्थ्य चौकीले सञ्चालन गरेको खोप कार्यक्रममा ५२१ जनाले खोप लगाएका गुण्डू स्वास्थ्य चौकीका इन्चार्ज महतोले जानकारी दिनुभयो । पहिलो डोज लगाइ सकेका र कोरोना लगायत अन्य रोगका कारणले दोस्रो डोज लगाउन नसकेका व्यक्तिलाई भने दोस्रो डोज खोप लगाउनका लागि खोप सुरिक्षत राखिएको स्वास्थ्य चौकीले जनाएको छ ।