नेपालमा कोरोनाबाट मर्नेको संख्या १ सय नाघ्यो

205
फाइल तस्विर

साउन ३१,
काठमाडौं । नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एक सय नाघेको छ । शनिबार थप ३ जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि भएसँगै मृतकको संख्या एक सय २ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तु, पर्सा र धनुषाका १—१ जना गरी थप ३ जनाको मृत्यु भएको छ। योसँगै मृतकको संख्या १ सय २ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार कपिलवस्तुको मायादेवी—७ का ४० वर्षिय पुरुषको साउन ३१ गते उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।

यस्तै पर्साको विरगञ्ज महानगरपालिका—१२ का ६० वर्षीय पुरुषको साउन ३० गते नारायणी अस्थायी कोरोना अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । धनुषाको जनकनन्दनी गाउँपालिका ४ का ५० वर्षिय पुरुषको साउन २९ गते कोरोनाबाट मृत्यु भएको हो। प्रदेश नम्बर १ मा ९ जना, प्रदेश २ मा ४४ जना, बागमती प्रदेशमा १८ जना र गण्डकी प्रदेशमा ६ जनाको कोरोनाबाट मृत्यु भएको छ । यस्तै प्रदेश ५ मा १३ जना, कर्णाली प्रदेशमा ४ जना र सुदूरपश्चिम प्रदेशमा ८ जनाको मृत्यु भएको छ । जसमा ८० जना पुरुष र २२ जना महिला रहेका छन् ।

नेपालमा कोरोना संक्रमितको संख्या २६ हजार नाघेको छ । ४ सय ६८ जना थप संक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या २६ हजार १९ पुगेको हो । आज शनिबार भएका ११ हजार ४७ पीसीआर परीक्षणमा ४ सय ६८ जनामा संक्रमण देखिएको हो । आज विभिन्न अस्पतालबाट १ सय २४ जना संक्रमित निको भएर घर फर्किएका छन् ।