Monday, October 19, 2026
Home राजनीति राप्रपामा बहस गाई कि हलो

राप्रपामा बहस गाई कि हलो

630

साउन ३१,
काठमाडौं । राप्रपाद्वारा गठित सुझाव समितिको पहिलो बैठक शनिबार कालिका टावर, बालुवाटारमा बसेको छ । राप्रपा नेता विक्रम पाण्डेको निजी कार्यालयमा बसेको बैठकमा पार्टीको चुनाव चिन्ह गाई राख्ने कि हलो भन्नेबारे छलफल भएको स्रोतले बतायो । राप्रपाका तीन समूहवीच एकीकरण भइसके पनि चुनावचिन्ह टुंगो लाग्न सकेको छैन । यही कारणले गर्दा पार्टीले निर्वाचन आयोगमा आफ्नो दल दर्ता प्रक्रिया टुंगोमा पुर्‍याउन सकेको छैन ।

राप्रपा नेपाल र राप्रपावीच पार्टी एकता हुनुअघि राप्रपात्रय अध्यक्षले एकीकरणको आधारपत्रमा हस्ताक्षर गरेका थिए । सो आधारपत्रमा चुनावचिन्ह ६ महिनाभित्र टुंग्याउने उल्लेख छ । तर, ६ महिना बितिसक्दा पनि चुनावचिन्ह के हुने भन्ने टुंगो लागेको छैन । यही विवादलाई टुंग्याउन राप्रपाको गतहप्ता बसेको बैठकले सात दिनभित्र सुझावसहितको प्रतिवेदन पेश गर्ने गरी ६ सदस्यीय सुझाव समिति गठन गरेको थियो । राप्रपाका अध्यक्षत्रयको बैठकले पार्टी एकिकरण सम्बन्धि आधारपत्रमा उल्लेखित बिषयहरुको कार्यान्वयन र थप ब्याख्याको निमित्त सात दिनभित्र सुझाव सहितको प्रतिवेदन पेश गर्ने गरि ६ सदस्यीय सुझाव समिति गठन गरेका थिए ।

समितिमा दीपक बोहोरा, बुद्धिमान तामाङ्ग, राजेन्ऽ लिङ्देन, विक्रम पाण्डे, धुव्रबहादुर प्रधान र श्यामप्रसाद तिमिल्सिना संलग्न छन् । शनिबार बसेको ६ नेताहरुको बैठकमा विक्रम पाण्डेले एकीकृत पार्टीको चुनाव चिन्ह हलो राख्नुपर्ने बताएका थिए भने अर्का नेता राजेन्द्र लिङदेनले गाई राख्नुपर्ने बताएका थिए ।शनिबारको बैठक सकारात्मकरुपमा सम्पन्न भएको आइतबार पुन बस्ने बैठकमा सहभागी एक नेताले जानकारी दिए ।