Saturday, September 19, 2026
Home समाचार जागीरबाट हटाइएपछि अस्पतालका कर्मचारीले आफ्नै जिउमा पेट्रोल छर्की लगाए आगो

जागीरबाट हटाइएपछि अस्पतालका कर्मचारीले आफ्नै जिउमा पेट्रोल छर्की लगाए आगो

216
सांकेतिक तस्विर

जेठ २६,
अछाम । अछाम बयालपाटा अस्पतालका एक जना कर्मचारीले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका छन् । अस्पतालको गेट अगाडि सोमबार बिहान साफेँबगर नगरपालिका–६ का सिद्धार्थ आउजीले आफ्नै शरीरमा आगो लगाएका हुन् । उनको हेलिकप्टरमार्फत थप उपचारको लागि नेपालगञ्ज लैजाने तयारी भएको प्रमुख जिल्ला अधिकारी पूण्यविक्रम पौडेलले बताए ।

आउजीका एक छोरा र एक छोरी छन् । केहि हप्ता अगाडि अस्पतालले हटाएका ३३ जना कर्मचारीमा उनी सफाईको काम गर्दथे । आर्थिक संकट परेको भन्दै उनीसहित ३२ जना कर्मचारीलाई अस्पतालले हटाएको थियो । दुई महिना अगाडि नै अस्पतालले हटाएको चिठी दिएपछि सिद्धार्थ तनावमा रहेको उनीजस्तै हटाइएका अर्का कर्मचारी विशाल पण्डितले बताए । ‘म अस्पतालमा चौकीदारको काम गर्थे । सिदार्थ सरसफाईको काम गर्थे । पुरानो नियुक्ति सकिन दुई महिना बाँकी थियो । हामी काम गर्न अस्पताल गयौं’ उनले भने । ‘तिमीहरूलाई हटाइसकेको हो । फेरि किन अस्पताल आयौ भन्दै हाकिमहरुले थर्काए । प्रहरी लगाएर बाहिर निकाले ।’

महामारीकै समयमा परिवारको रोजीरोटी चल्ने माध्यम नै बन्द भएपछि न्यूनस्तरका धेरै कर्मचारी तनावमा भएको उनले बताए । अस्पतालले भने अस्पतालमा आर्थिक अभाव भएको भन्दै कार्यसम्पादन, अनुशासन सबै हेरेर कर्मचारी हटाएको बताएको छ । -इमेज खबरबाट