Wednesday, October 7, 2026
Home समाचार आज ११४ जनामा संक्रमणः कोरोना संक्रमण ८८६, १८३ जनालाई निको भयो

आज ११४ जनामा संक्रमणः कोरोना संक्रमण ८८६, १८३ जनालाई निको भयो

92
सांकेतिक तस्विर

जेठ १४,
काठमाडौं । नेपालमा थप ११४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८८६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबारको पत्रकार सम्मेलनमा २८ जना कोरोना मुक्त भएको भन्दै योसँगै निको हुनेको संख्या १८३ जना पुगेको जानकारी दिएको हो । बुधबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सो जानकारी दिएका हुन् ।

देवकोटाका अनुसार धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु सबै सप्तरीका हुन् । यसैगरी कोसी प्रयोगशालामा गरिएको परीक्षणमा १७ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु सबै झापाका हुन् ।
यसैगरी हेटौडास्थित प्रयोगशालामा गरिएको परीक्षणमा ८ जनामा कोरोना पुष्टि भएको छ । जसमा मकवानपुरका १ र रौतहटका ७ जना रहेका छन् ।

यसैगरी पोखराको प्रयोगशालामा गरिएको परीक्षणमा बागलुङका ६ जनामा संक्रमण पुष्टि भएको छ ।
यसैगरी दाङको राप्तीमा गरिएको परीक्षणमा १८ जनामा पुष्टि भएको छ । जसमा रुकुम पूर्वका ३ जना र दाङका १५ जना रहेका छन् । भेरी अस्पतालमा गरिएको परीक्षणमा पनि १६ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु सबै बाँकेका हुन् ।

यसैबीच राष्ट्रिय जनस्वास्थ प्रयोगशालामा गरिएको परीक्षणमा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा सिरहाका १ जना, सिरहा घर भइ सप्तरी बस्दै आएका १ जना, बाराका ७ जना, रौतहट घर भइ बारामा रहेका १ जना र रौतहटका २८ जना रहेका छन् ।