कार्तिक २६, काठमाडौँ — अनलाइन सपिङ कम्पनी दराज विरुद्ध ठगीको उजुरी परेपछि वाणिज्य आपूर्ति तथा उपभोक्ताहित संरक्षण विभागले छानबिन सुरु गरेको छ । दराजमार्फत् एकथोक सामान अर्डर गर्दा अर्कै सामान आइपुग्ने गरेको भन्दै उजुरी परेपछि छानबिन सुरु गरेको विभागले जनाएको छ ।
विभागले शुक्रबार दराजको नक्सालस्थित कार्यालय अनुगमन गरी २४ घण्टाभित्र उपस्थित हुन पुर्जी काटेको थियो। ‘उजुरी परेपछि अनुगमन गरेका थियौ,’ विभागका अनुगमन शाखा अधिकृत रमेशकाजी श्रेष्ठले भने, ‘पहिलो चरणमा २४ घण्टाभित्र उपस्थित हुन पुर्जी दियौ।’ दोस्रो चरणमा कम्पनीको कागजपत्र अध्ययन गर्ने उनले बताए।
विभागका निमित्त महानिर्देशक नोखबहादुर बस्यालका अनुसार दराज विरुद्ध कात्तिक २१ गते उजुरी परेको थियो। उजुरीकर्ताले मिनीफोकस ब्राण्डका घडी अर्डर गर्दा फ्रोस ब्राण्डको घडी आइपुगेको उजुरीमा उल्लेख गरेका छन्। सोही उजुरीको आधारमा विभागले छानबिन अघि बढाएको हो। दराजका प्रतिनिधि आइतबार विभाग आएर विभागका अधिकारीहरुसँग छलफल गरेका थिए। ‘सामान फरक भन्ने उजुरीकै आधारमा अनुगमन भएको छ, पहिलो चरणमा आइतबार छलफल पनि भयो,’ निमित्त महानिर्देशक बस्यालले भने, ‘अहिले अध्ययनको क्रममा छौं। कैफियत भेटिए कारबाही हुन्छ।’ -कान्तिपुर डटकम