सुत्केरीलाई उपाध्यक्षले यस्तो कोसेली दिएपछि

103

कार्तिक २६,
बैतडी । दोगडाकेदार गाउँपालिकामा सुत्केरी महिला र नवजात शिशुको स्वास्थ्यलाई लक्षित गर्दै उपाध्यक्षको कोसेली वितरण गरिने भएको छ । गाउँपालिकाभित्र रहेका चार सय २५ जना सुत्केरी महिलालाई उपाध्यक्षको कोसेली वितरण गरिने गाउँपालिकाका स्वास्थ्य संयोजक नरेन्द्र नाथले जानकारी दिए। पोषण र सरसफाइका लागि गाउँपालिकाका प्रत्येक स्वास्थ्यसंस्थाबाट उपाध्यक्षको कोसेली वितरण गर्ने तयारी भएको उनले बताए ।

उक्त कार्यक्रमका लागि गाउँपालिकाले चार लाख २० हजार रकम विनियोजन गरेको छ । उपाध्यक्षको कोसेलीमा दाल, तेल, ज्वानो, सेनेटेरी प्याड, साबुन, नङ्काटो, सोडालगायतका सामग्री रहेका दोगडाकेदार गाउँपालिका उपाध्यक्ष पार्वती कार्कीले बताए। उपाध्यक्षको कोसेली वितरणले पूर्ण संस्थागत सुत्केरी गराउन पनि सहयोग पुग्ने उनले बताइने । दोगडाकेदार गाउँपालिकाका वडा नं ४, वडा नं ५ र वडा नं ८ यसअघि नै पूर्ण संस्थागत सुत्केरी घोषणा भइसकेका छन् । -रासस