प्रकृति चिनाउने तिहार

380

कान्तिपुर
कार्तिक ११, तिहार कस्तो पर्व हो  ? काग, कुकुर, गाई, लक्ष्मी, गोरूको पूजा र भाइटीका सम्झेर केके गर्छौं भनेर हामी भन्न सक्छौं  । साथमा देउसी र भैलो खेल्ने कुरा पनि छुटाउँदैनौं  । दसैं, तिहारजस्ता चाडपर्वहरू मनाउने तरिका फरक छन् । यी बेला हामीले खाने परिकार पनि फरकफरक छन् । चाडपर्वहरू स्कुल छुट्टी हुने भएकाले खुसी मान्नुपर्ने समय मात्रै होइन । सबै धर्म, संस्कृतिमा चाडपर्वका आआफ्नै महत्त्व र बुझ्नैपर्ने सन्देश लुकेका हुन्छन् । तिहारलाई विज्ञानसँग जोडेर हेर्ने हो भने यो पर्वले हामीलाई प्रकृतिप्रेम सिकाउँछ । तिहारमा पूजा गरिने पन्छी र जनावरको आ–आफ्नै महत्त्व छ ।
तिहारको पहिलो दिन कागको पूजा गरिन्छ । कागलाई पुज्नु भनेको सबैं पन्छीप्रतिको प्रेम हो । काग एउटा महत्त्वपूर्ण पन्छी हो । यसले वातावरण सफा राख्न हामीलाई सघाएको हुन्छ । कागले सिनो र यत्रतत्र मिल्किएका खानेकुरा खान्छ । समूहमा बस्छ । शत्रु आए कागले मिलेर धपाउँछन् । कागको आवाज सुरिलो हुँदैन, त्यसैले यो कराएको हामीलाई मन नपर्नु स्वाभाविक छ । तर, जोखिमका अवस्थामा कागले कराएर सबै पशुपन्छीलाई सावधान गराउँछन् । त्यसैले कागबाट सिक्ने र सचेत हुने सन्देश पाइन्छ ।

कागले एकपटक चिनेको अनुहार हत्तपत्त नबिर्सने अध्ययनहरूले पनि देखाएका छन् । एउटा काग मर्दा थुप्रै कागहरू आएर घेरिएर बस्छन् र त्यो काग कसरी मर्‍यो भन्दै मृत्युको कारण खोज्छन् । कागको यिनै विशेषताले अरू पन्छीभन्दा अलि भिन्न छ ।
तिहारको दोस्रो दिन कुकुरको पूजा गरिन्छ । हामीमध्ये धेरैलाई कुकुर मन पर्छ । कति जनाको त घरमै पालिएको पनि होला । मानिससँग कुकुरको नाता सदियौंदेखि सुरु भएको हो । मान्छेले घर बनाउन, समूहमा बस्न, लुगा लगाउन सिक्दै गर्दादेखि नै आफ्ना लागि अरू जनावरको सिकार गर्न कुकुरलाई अघि लगाउँथ्यो ।

बैज्ञानिकहरूले मानिसको सभ्यता विकासक्रम सँगसँगै कुकुरसँगको सम्बन्धलाई व्याख्या गर्छन् । इमानदारिता र मान्छेप्रतिको भक्ति कुकुर हामीलाई मन पर्नुको बलियो कारण हो । कुनै पनि कुरा सुँघेर पत्ता लगाउने क्षमताका कारण कुकुर प्रहरी र सेनाले गर्ने अनुसन्धानमा सबैभन्दा भरपर्दा साथी मानिन्छन् । घरमा पालेका कुकुरले आफ्नो मान्छे र बाहिरी प्रस्ट चिन्छन् । हामीलाई सुरक्षा दिन्छन् । मानिसले सुन्ने आवाजको दूरीभन्दा चार गुणा टाढाबाट कुकुरले सुन्न सक्छन् । अन्तरिक्षमा पुग्ने पहिलो जीव कुकुर हो । सोभियत संघले निर्माण गरेको स्पुतनिक–२ नामक यानमा आजभन्दा ६२ वर्षअघि लाइका नामको कुकुरलाई अन्तरिक्षमा पठाइएको थियो ।