Saturday, October 3, 2026
Home पत्रपत्रिका मनपरी प्रकृति दोहनले बस्ती जोखिममाः जनप्रतिनिधि नै ठेकेदार

मनपरी प्रकृति दोहनले बस्ती जोखिममाः जनप्रतिनिधि नै ठेकेदार

156

नागरिक दैनिक
कार्तिक ६, काठमाडौं – ललितपुर भट्टेडाँडाका विष्णु तिमिल्सिना बागमती गाउँपालिका–३ का वडाध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता पनि हुन्। उनी बालुवा, ढुंगा र गिटी उत्खनन र बिक्रीमा व्यस्त हुन्छन्। ठेकेदारको काम पनि गर्ने उनका कान्ति कन्स्ट्रक्सन प्रालिसहित दुईवटा कम्पनी छन्। उनले ती कम्पनीमार्फत बालुवा, ढुंगा र गिटी उत्पादन, बिक्रीवितरण र निर्माणसम्बन्धी काम गर्छन्।

गाउँपालिकाभित्रकै खानी खोला, ठोस्ने खोला र कान्ति लोकपथ सडकको भित्तो उनको कम्पनीका बालुवा र ढुंगा उत्खननका स्रोत हुन्। सातदोबाटोस्थित प्राणदेवी इन्टरप्राइजेजका सञ्चालक राजकुमार भण्डारी भन्छन्, ‘वडाध्यक्ष विष्णु तिमिल्सिना, गाउँपालिका अध्यक्ष वीरबहादुर लोप्चन, गोदावरी नगरपालिका–६ का वडाध्यक्ष विष्णुमान महर्जनलगायतले बालुवा, गिटी र ढुंगा उत्खन्न गरी सप्लाई गर्नुहुन्छ। हामी उहाँहरूबाटै किन्छौं।’

जनप्रतिनिधि हुनुअघि तिमिल्सिना ठेकेदार थिए। हात्तीवनमा उनका कान्तिपथ र गौरी पार्वती कन्स्ट्रक्सन प्रालि नामका दुइटा कम्पनी छन्। ती कम्पनीसँग चारवटा डोजर पनि छन्। जनप्रतिनिधि भएपछि पनि उनी ठेकेदारकै रूपमा व्यस्त छन्, वडा कार्यालयमा खासै भेटिँदैनन्। सेवाग्राहीलाई काम गर्दा आफू भएकै ठाउँमा बोलाउँछन्। छपेलीका कृष्ण तिमिल्सिना भन्छन्, ‘२०७६ भदौ पहिलो साता भाइको नागरिकता बनाउन सिफारिस लिन जाँदा वडाध्यक्ष भेटिएनन्। २९ भदौ २०७६ मा हामी छपेलीस्थित वडा कार्यालय पुग्दा पनि वडाध्यक्ष तिमिल्सिना कार्यालयमा थिएनन्। खोज्दै जाँदा उनी भट्टेडाँडास्थित बालुवा खानीमा टिपरमार्फत बालुवा र ढुंगा बिक्री गरिरहेको अवस्थामा भेटिए।’ तिमिल्सिना स्वयं स्वीकार्छन्, ‘म ठेकेदार पनि हुँ। म पहिलेदेखि बालुवा, ढुंगा र गिटी उत्खनन र निर्माण कार्यमा संलग्न छु। जनप्रतिनिधि बन्दैमा पहिलेदेखि गर्दै आएको काम चटक्कै छाड्न सक्दिनँ। सेवाग्राहीलाई मारमा पार्दिनँ, आफू भएकै ठाउँमा बोलाएर भए पनि सेवा दिन्छु।’