नेपाली चेलीको हत्या

144

असोज २७,
विराटनगर । भारत बिहारको अररिया जिल्लामा पर्ने जोगवनीको भेडयारीमा नेपाली चेली २२ वर्षीया रञ्जना सहनी (बहरदार)को शुक्रबार राति हत्या भएको छ ।
विराटनगर–११ पिचराकी रञ्जनाको ८ महिना अगाडी २३ फागुनमा जोगवनी भेडयारीकै २५ वर्षीय भिम बहरदारसँग मागी विवाह भएको थियो । जोगवनी प्रहरी चौकीका अनुसार हत्याको दुई दिनपछि आइतबार बिहान सीमावर्ती जोगवनी बजारदेखि करिब ३ किमी दक्षिण भवानीपुरस्थित परमान खोलामा रञ्जनाको शव फेला परेको हो ।

हत्या अघि रञ्जनालाई शारीरिक यातना दिइएकोले गहन अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । दाइजो स्वरुप माग गरिएको २ लाख रुपैयाँ नदिंदा छोरीको हत्या भएको माइती पक्षको दाबी अनुसार प्रहरीले तत्कालै रञ्जनाको श्रीमान, ससुरा सैनी बहरदार, जेठाजु अर्जुन बहरदार र छिमेकी शिवानन्द मुखियालाई पक्राउ गरेको छ ।

फरार आरोपी सासुआमा र जेठानी दिदीको खोजी भइरहेको प्रहरीले जनाएको छ । पन्ध्र दिन अगाडि पनि ज्वाइँले पसल खोल्नलाई रकम चाहिएको भन्दै दबाब दिएको र नदिएमा रञ्जनाको हत्या गर्ने धम्की दिएको माइती पक्षको आरोप छ । विवाह पछि पनि ऋण काढेर ज्वाइँलाई मोटरसाइकल किनेर दिएको माइती पक्षले प्रहरी समक्ष भनेको छ । रञ्जनाको शव घरदेखि करिब १ किलोमिटर परमान खोलामा फेला परेको थियो । शनिबार छोरी हराएको खबर पाएपछि माइती पक्ष खोजतलास गर्दै जोगवनीको भेडयारी पुगेका थिए । खोजबिन जारी रहँदा आइतबार बिहान स्थानीय बालबालिकाले खोलामा शव देखेर खबर गरेका थिए । प्रहरीले पोष्टमार्टमका लागि शवलाई आइतबार दिउँसो फारबिसगन्ज लगेको छ ।