यस्तो बन्दै छ भैंसेपाटीमा मुख्यमन्त्री र प्रदेश प्रमुखका आवासीय कार्यालय

166

कान्तिपुर दैनिक
असोज १३, काठमाडौँ — सरकारले सातै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखका लागि ललितपुरको सैंबु भैंसेपाटीमा बनाउन लागेको आवासीय सुविधासहितको सम्पर्क कार्यालय भवनको सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्दै छन् । २७ रोपनी १२ आना क्षेत्रफलको जग्गामा ७ वटा ब्लकमा १४ कोलोनी बन्नेछन् । प्रत्येक भवन साढे दुई तलाका हुने सहरी विकास तथा भवन निर्माण विभागले जानकारी दिएको छ । मुख्यमन्त्री र प्रदेश प्रमुखका लागि छुट्टाछुट्टै कोलोनी हुनेछन् । विभागले करिब एक अर्ब रुपैयाँ लागत एस्टिमेट प्रस्ताव गरेको थियो । टेन्डर प्रक्रियाबाट छानिएको केसी समानान्तर जेभी कन्स्ट्रक्सन कम्पनीले ७२ करोड ४८ लाख रुपैयाँमा निर्माण प्रस्ताव पेस गरेको छ । सोहीअनुसार टेन्डर स्वीकृत भएको छ ।

निर्माण अघि बढाउन चालू आर्थिक वर्षका लागि ४० करोड रुपैयाँ विनियोजन गरिएको सहरी विकास तथा भवन विभागका महानिर्देशक मणिराम गेलालले जानकारी दिए । परिसरमा प्रवेशका लागि विशेष सुरक्षा व्यवस्था मिलाउन विशेष संरचना निर्माण हुनेछ । आधुनिक सुविधासहितका भवनले मात्र जग्गाको करिब १७ रोपनी ७ आना अर्थात् ६२ प्रतिशत क्षेत्रफल ओगट्नेछन् । दुई वर्षमा भवन निर्माण पूरा गर्ने लक्ष्य राखिएको छ ।