असोज ७,
काठमाडौं । स्वयम्भूतर्फबाट रन्थनिँदै न्यूरोड आइपुगेको राँगोलाई प्रहरीले गोली हानेर मारेको छ । महानगरीय प्रहरी वृत्त जनसेवाको टोलीले राँगोलाई गोली हानेको हो । मान्छेलाई हान्दै न्युरोड आइपुगेको राँगालाई प्रहरीले गोली हानेर मारेको थियो।
साढे ६ बजे बिहान न्युरोड पुगेको राँगोलाई प्रहरीले गोली हानेको थियो। बिहानैको घटना भएकाले ठूलो क्षति भने हुन पाएन। महानगरीय प्रहरी बृत्त जनसेवाका प्रहरी नायब उपरीक्षक बासुदेव खतिवडाका अनुसार राँगाले हानेर तीन जना घाइते भएका छन्।
राँगाले एउटा ट्याक्सीमा समान्य क्षति पुर्याएको छ। प्रहरीले घाइतेको विवरण संकलन भइरहेको उनले बताए। स्वयम्भूबाट राँगा भाग्दै कालिमाटी आएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। कालिमाटीबाट राँगा पछ्याउँदै प्रहरी न्युरोडसम्म आएको थियो।
‘राँगा कसरी फुत्कियो वा कहाँबाट आयो भन्ने पूरै यकिन भएको छैन, मारिएको राँगा नगरपालिकामा राखिएको छ, तर धनी आएका छैनन्,’ महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीले भने।