Monday, September 21, 2026
Home खेलकुद सिंगापुरमा हुने त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजका लागि नेपाली टोलीको घोषणा

सिंगापुरमा हुने त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजका लागि नेपाली टोलीको घोषणा

398

असोज २,
काठमाडौं । सिंगापुरमा हुने त्रिकोणात्मक टी२० क्रिकेट सिरिज र ओमनमा हुने टी२० सिरिजका लागि नेपाली टोलीको घोषणा गरिएको छ। नेपालले घोषणा गरेको टिममा ईशान पाण्डे र कुशल मल्ल दुई नयाँ अनुहार छन्। ज्ञानेन्द्र मल्ल, शरद भेषावकर र बसन्त रेग्मी टिममा परेका छैनन्। ज्ञानेन्द्रले घरायसी कामका कारण आफू नखेल्ने बताएका थिए। यसैले उपकप्तानको जिम्मेवारी दिपेन्द्र सिंह ऐरीलाई दिइएको छ।

बन्द प्रशिक्षणमा रहेका खेलाडीबाट नेपालले १५ सदस्सीय टोलीको घोषणा गरेको हो। आईसीसीका प्रतिनिधि अमिनुल इस्लाम, प्रशिक्षक उमेश पटवाल र कप्तान पारस खड्काले नेपाली टोली छनोट गरेका हुन्। यस्तै नेपालले भर्खरै भारतीय प्रशिक्षक वुरिटी भेन्कटरामलाई बलिङ प्रशिक्षकका रुपमा टिम हेर्न नियुक्त गरेको छ। नेपाल, जिम्बावे र सिंगापुरबीच त्रिकोणात्मक टी–२० सिरिज सिंगापुरमा असोज १० देखि १६ गतेसम्म आयोजना हुँदैछ।

नेपालले असोजमै १८ गतेदेखि २ गतेसम्म ओमनमा हुने पाँच देश सम्मिलित टी–२० सिरिज पनि खेल्दैछ। त्यसमा ओमन र नेपालसहित हङकङ, आयरल्याण्ड र नेदरल्याण्ड्स सहभागी हुँदै छन्। ओमनको प्रतियोगिता खेल्ने घोषणा पहिले नै भएको भए पनि त्यसअघि सिंगापुरमा सिरिज हुने तय भएको हो। सिंगापुरले विश्वकपको ग्लोबल छनोटको तयारीका लागि सिरिज आयोजना गर्न लागेको हो। यस्तै ओमनले पनि प्रतियोगिताको तयारी नेपालले टी–२० विश्वकपको एसियाली छनोट खेल्नु अघि नै गरेको थियो। नेपाल ग्लोबल छनोटमा पुग्न नसकेपछि खेल्ने या नखेल्ने एकीन भएको थिएन। तर आईसीसीले नेपाललाई सहभागी हुने अनुमति दिएसँगै नेपालले महत्वपूर्ण सिरिज खेल्न पाउने भएको हो।

को को छन् टोलीमा ?

पारस खड्का (कप्तान), दिपेन्द्र सिंह ऐरी (उपकप्तान), सोमपाल कामी, करण केसी, विनोद भण्डारी, ललित नारायण राजवंशी, पवन सर्राफ, सन्दीप लामिछाने, अभिनास बोहोरा, कुशल मल्ल, आरिफ शेख, सुशन भारी, ईशान पाण्डे, सन्दीप जोरा र रोहित कुमार पौडेल।