Monday, September 21, 2026
Home समाचार नर्सिङ केयरका लागि जापान जान लिइने परीक्षा केन्द्र तोकियो

नर्सिङ केयरका लागि जापान जान लिइने परीक्षा केन्द्र तोकियो

189

असोज २,
काठमाडौं। नर्सिङ केयरका लागि जापान जाने नेपाली कामदारका लागि लिइने परीक्षाको केन्द्र तोकिएको छ । २०७५ चैत ११ गते जापान र नेपालबीच भएको शून्य लागतको सम्झौतापछि पहिलो चरणमा नर्सिङ केयरगिभरका रुपमा लैजाने कामदारको परीक्षा केन्द्र डिल्लीबजारस्थित युनिभर्सल ल्याङ्वेज एन्ड कम्प्युटर इन्स्टिच्युट तोकिएको हो ।

जापान सरकारको स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयले नेपालबाट नर्सिङ केयर गिभरमा कामदार लैजाने सूचना प्रक्रिया अघि बढिसकेको जानकारी गराइसकेको छ । नर्सिङ केयरगिभरमा जान चाहने कामदारले जापानिज भाषा र सिप मूल्याङ्कन परीक्षा दिनुपर्ने छ । जापानी भाषा परीक्षा अक्टोबर २७ देखि २९ र नोभेम्बर ७, १२ र १४ मा हुने यसअघि नै सूचित गराइसकिएको थियो । उक्त परीक्षाका लागि पहिलो चरणमा १ हजार आवेदन लिइने छ ।

आवेदन अनलाइनमार्फत दिन सकिने र सुरुमा आवेदन दिनेलाई प्राथमिकता दिइने बताइएको छ । सूचनामा आवेदनकर्ताले अनलाइन आवेदन दिनुअघि काठमाडौंस्थित जापनी दूतावास र जापान फाउन्डेसनले तोकेको नेपालस्थित कार्यालयबाट अनिवार्य टोकन लिनुपर्ने छ ।

जापान सरकारले नर्सिङ केयरगिभरमा जान चाहनेका लागि कुनै शैक्षिक योग्यता नचाहिने बताए पनि ‘नर्सिङ केयर स्किल इभ्यालुएसन टेस्ट’ र ‘नर्सिङ केयर जापनिज ल्याङ्ग्वेज इभ्यालुएसन टेस्ट’भने अनिवार्य पास गर्नुपर्ने छ । नर्सिङ केयरगिभरको सिप परीक्षा ६० मिनेटको हुनेछ, जसमा ४५ वटा प्रश्न सोधिने छन । परीक्षा कम्प्युटर–बेस्ड टेस्टिङ विधिबाट लिइने छ । ४५ प्रश्नमध्ये ४० लिखित र बाँकी ५ प्रश्न व्यावहारिक प्रश्न हुने छन । नर्सिङ केयर जापानिज ल्याङ्ग्वेज इभ्यालुयसन टेष्टमा भने १५ वटा प्रश्नहरु सोधिने छ । दुवै परीक्षाका लागि एक हजार जापनिज येन शुल्क लाग्ने छ ।

केयर गिभर लैजाने विषयमा काठमाडौंस्थित जापनिज दूतावासले नेपालको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबीच सम्झौता भइसकेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग २०७५ चैत ११ गते जापानसँग भएको श्रम सम्झौता अनुसार पहिलो पटक नेपालबाट केयर गिभर लैजान लागिएको हो ।