नर्सिङ केयरका लागि जापान जान लिइने परीक्षा केन्द्र तोकियो

174

असोज २,
काठमाडौं। नर्सिङ केयरका लागि जापान जाने नेपाली कामदारका लागि लिइने परीक्षाको केन्द्र तोकिएको छ । २०७५ चैत ११ गते जापान र नेपालबीच भएको शून्य लागतको सम्झौतापछि पहिलो चरणमा नर्सिङ केयरगिभरका रुपमा लैजाने कामदारको परीक्षा केन्द्र डिल्लीबजारस्थित युनिभर्सल ल्याङ्वेज एन्ड कम्प्युटर इन्स्टिच्युट तोकिएको हो ।

जापान सरकारको स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयले नेपालबाट नर्सिङ केयर गिभरमा कामदार लैजाने सूचना प्रक्रिया अघि बढिसकेको जानकारी गराइसकेको छ । नर्सिङ केयरगिभरमा जान चाहने कामदारले जापानिज भाषा र सिप मूल्याङ्कन परीक्षा दिनुपर्ने छ । जापानी भाषा परीक्षा अक्टोबर २७ देखि २९ र नोभेम्बर ७, १२ र १४ मा हुने यसअघि नै सूचित गराइसकिएको थियो । उक्त परीक्षाका लागि पहिलो चरणमा १ हजार आवेदन लिइने छ ।

आवेदन अनलाइनमार्फत दिन सकिने र सुरुमा आवेदन दिनेलाई प्राथमिकता दिइने बताइएको छ । सूचनामा आवेदनकर्ताले अनलाइन आवेदन दिनुअघि काठमाडौंस्थित जापनी दूतावास र जापान फाउन्डेसनले तोकेको नेपालस्थित कार्यालयबाट अनिवार्य टोकन लिनुपर्ने छ ।

जापान सरकारले नर्सिङ केयरगिभरमा जान चाहनेका लागि कुनै शैक्षिक योग्यता नचाहिने बताए पनि ‘नर्सिङ केयर स्किल इभ्यालुएसन टेस्ट’ र ‘नर्सिङ केयर जापनिज ल्याङ्ग्वेज इभ्यालुएसन टेस्ट’भने अनिवार्य पास गर्नुपर्ने छ । नर्सिङ केयरगिभरको सिप परीक्षा ६० मिनेटको हुनेछ, जसमा ४५ वटा प्रश्न सोधिने छन । परीक्षा कम्प्युटर–बेस्ड टेस्टिङ विधिबाट लिइने छ । ४५ प्रश्नमध्ये ४० लिखित र बाँकी ५ प्रश्न व्यावहारिक प्रश्न हुने छन । नर्सिङ केयर जापानिज ल्याङ्ग्वेज इभ्यालुयसन टेष्टमा भने १५ वटा प्रश्नहरु सोधिने छ । दुवै परीक्षाका लागि एक हजार जापनिज येन शुल्क लाग्ने छ ।

केयर गिभर लैजाने विषयमा काठमाडौंस्थित जापनिज दूतावासले नेपालको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबीच सम्झौता भइसकेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग २०७५ चैत ११ गते जापानसँग भएको श्रम सम्झौता अनुसार पहिलो पटक नेपालबाट केयर गिभर लैजान लागिएको हो ।