भिडियो कन्फ्रेन्सबाट मन्त्रिपरिषद् बैठक नबसेको भन्दै सञ्चारमन्त्रीले संसदमै ढाँटे

191

भदौ १२,
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरमा उपचारमा रहेका बेला भिडियो कन्फ्रेन्सिङ कलबाट भएको मन्त्रिपरिषद् बैठकबारे सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले संसदलाई ढाँटेका छन्। बिहीबार सार्वजनिक महत्वको वक्तत्य दिने क्रममा सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले भिडियो कन्फ्रेन्सबाट मन्त्रिपरिषद बैठक बस्दै नबसेको भनेर संसदमा झुटो बोलेका हुन्। संसदलाई जानकारी दिने क्रममा उनले त्यस दिन (भदौ ९ गते) मन्त्रिपरिषद् बैठक नबसेको, कुनै पनि एजेन्डा प्रस्तुत पनि नभएको र पारित पनि नभएको जिकिर गरेका छन्। जबकि प्रधाननमन्त्री केपी शर्मा ओली स्वयम्ले भदौ ९ गते नै सामाजिक सञ्जाल ट्वीटरमार्फत् टेलि प्रिजेन्समार्फत् मन्त्रिपरिषद बैठक बसेर सम्पन्न भएको जानकारी दिएका थिए ।

त्यस्तै प्रधानमन्त्रीका राजनीकि सल्लाहकार विष्णु रिमालले पनि मन्त्रिपरिषद् बैठकबारे जानकारी दिएका थिए। मन्त्री बास्कोटाले भने संसदमा प्रतिपक्षी दल कांग्रेसका सांसदहरु र सत्तारुढ नेकपाकै सांसदहरुले भिडियो कन्फ्रेन्सबाट मन्त्रिपरिषद् बैठकलाई सार्वभौमसत्तासँग जोडेपछि उक्तदिन मन्त्रिपरिषद बैठक नभएको बताएका हुन्। बास्कोटाले नेपालको सार्वभौमिकता र प्रमको राष्ट्रियतामाथि प्रश्न नउठाउन पनि सचेत गराए। कांग्रेस सचेतक पुष्पा भुसालले मन्त्रिपरिषद बैठक नबसेको भएको कार्यविधि परिमार्जन गरेर बैठक भिडियो कन्फ्रेन्सबाट बैठक बस्न सक्ने भनेर किन लेखेको ? भनेर जवाफ मागेपछि बास्कोटाले त्यो भविष्यका लागि गरिएको जवाफ दिए। सांसद प्रकाश रसाइली स्नेहीले पहिले मन्त्रिपरिषद भनेर हल्ला गरिएको तर, अहिले होइन भनेर किन ढाँटिएको भनेर सोधेका थिए। जवाफमा बास्केटाले त्यो परीक्षण मात्रै भएको भन्दै व्यंग्य गरेका थिए। ‘मुटुको उपचारका लागि बाँदरमा किन परीक्षण गरियो? किन मान्छेमा किन गरिएन?’, बास्कोटाले भने, ‘त्यो एउटा परीक्षण मात्रै हो, त्यसलाई अन्यथारुपमा नबुझ्नु होला।’