एजेन्सी, साउन ३०,
काठमाडौं । श्रीलंकामा एक हात्तीलाई पर्वमा वर्षैपिच्छे जबर्जस्ती परेड गर्न लगाइने र यातना दिने गरिएकाले दुब्लाएर सबै हाड देखिने कारुणिक तस्वीर सार्वजनिक भएको छ । टिकीरी नामक ७० वर्षीया ढोइलाई अन्य ६० हात्तीहरूसँगै श्रीलंकाको पेराहेरा पर्वमा परेड गर्न लगाइनेछ । तर ढोइको शरीर कमजोर छ अनि उनी बिरामी छिन् ।
यो दश दिने बौद्ध पर्वमा जनावरहरूलाई सजाइन्छ अनि नर्तक, संगीतकार, आगो ओकल्ने तथा हातमा सामान घुमाउनेहरूले चटक गर्छन् । टिकीरीको कारुणिक तस्वीर सेभ एलिफेन्ट फाउन्डेसनले सोमवार विश्व हात्ती दिवसमा शेयर गरेको थियो । ‘टिकीरीलाई लगातार १० दिन प्रत्येक साँझ अबेर रातिसम्म हल्लाखल्ला, आतिशबाजी र धूवाँका माझ परेडमा भाग लिन लगाइन्छ,’ फाउन्डेसनले भन्यो ।
‘मानिसहरूले समारोहमा आशीर्वाद पाएको अनुभव गरून् भनेर उसलाई प्रत्येक रात थुप्रै किलोमिटर हिँडाइन्छ ।’ महोत्सवमा भाग लिनेहरूले टिकीरीको आकर्षक रूप देख्छन् तर सजावटका पछाटि कठोर वास्तविकता लुकेको छ । ‘उनको हाड छाला मात्र बाँकी रहेको र उनी कमजोर भएको कुरालाई सजावटी वस्त्रले छेक्छ,’ फाउन्डेसनले लेख्यो ।
‘कसैले पनि उनको आँखाको आँसु देख्दैन । उनको मुकुण्डोलाई सजाउने चम्किला प्रकाशले उनका आँखामा चोट पुगेको छ । उनलाई कदम चाल्न गाह्रो पर्ने गरेको छ किनसक खुट्टामा साङ्लो बाँधिएको छ ।’ यो पर्वलाई हामीहरू कसरी आशीर्वाद वा पवित्र कुरा मान्न सक्छौं जहाँ हामीहरूले अन्य प्राणीलाई पीडा दिइरहेका छौं ?’ टिकीरीलाई क्यान्डी शहरको दाँत मन्दिरमा काममा खटाइएको संस्थाले जानकारी दियो र श्रीलंकाका प्रधानमन्त्रीलाई यो क्रूरता अन्त्य गर्न चिट्ठी लेख्न दर्शकहरूलाई आग्रह गर्यो ।