कान्तिपुर दैनिक
साउन २२, काठमाडौँ — राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको केन्द्रीय कार्यालय सरकारी भवनमा रहेको छ । मधेसी निजामती कर्मचारी मञ्चलाई सरकारले उपलब्ध गराएको बबरमहलस्थित करिब १ रोपनी जग्गा तथा भवन राजपाले अनधिकृत रूपमा प्रयोग गर्दै आएको हो । त्यहाँको भवनलाई ‘मधेस भवन’ नामकरणसमेत गरिएको छ । सरकारबाट भोगाधिकार पाएको संरचना वा जग्गा अर्को पक्षलाई भाडामा वा अन्य कुनै प्रयोजनमा दिन नपाइने व्यवस्थाविपरीत कर्मचारी मञ्चले २०७४ साउन १८ देखि आफ्नो भवन राजपालाई कार्यालय सञ्चालनका लागिदिएको हो । मञ्च मधेसकेन्द्रित दल राजपा निकट संगठन हो । पासाङल्हामु पर्वतारोहण प्रतिष्ठानले प्रमुख सत्तारूढ नेकपालाई सरकारबाट भोगाधिकार प्राप्त धुम्बाराहीस्थित जग्गा केन्द्रीय कार्यालय सञ्चालनका लागि दिएर भाडा उठाउँदै आएको छ । नेकपाकै जसरी राजपालाई मञ्चले अनधिकृत रूपमा पार्टी कार्यालय सञ्चालन गर्न दिएको हो ।
‘सरकारी जग्गा दर्ता तथा लिजमा उपलब्ध गराउनेसम्बन्धी कार्यनीति–२०७१’ र सर्वोच्च अदालतको २०७२ भदौ २७ गतेको जग्गा भोगाधिकारसम्बन्धी फैसलाविपरीत मञ्चले राजपालाई सरकारी सम्पत्ति भोगचलन गर्न दिएको हो । मन्त्रिपरिषद्बाट पारित कार्यनीतिमा कुनै निकाय वा संस्थालाई जग्गा भोगाधिकार वा लिजमा दिनुअघि जग्गाको अवस्था वा प्राकृतिक प्रकोप व्यवस्थापन प्रयोजनका लागि प्रयोग हुन सक्नेरनसक्नेसमेत अध्ययन गर्नुपर्ने व्यवस्था छ । राजपा अध्यक्षमण्डलका सदस्य एवं सांसद अनिलकुमार झाले पार्टी कार्यालय अस्थायी रूपमा मञ्चको भवनमा सञ्चालन भइरहेको बताए । ‘विभिन्न मधेसवादी दलहरूबीच एकता हुँदा कसैको पनि आफ्नै भवन थिएन । त्यसैले मञ्चले अर्को व्यवस्था नभएसम्म भवन दिएको हो,’ उनले भने, ‘छिट्टै हामी सर्छौं ।’