गोकर्णेश्वरको मकैबारीमा भेटियो सालनालसहितको जीवितै बच्चा

680

साउन १०,
काठमाडौं । बिहीबार बिहान ११ बजेतिर काठमाडौंको गोकर्णेश्वर नगरपालिका-८ को ओसिस पार्टी प्यालेस नजिकैको मकैबारीबाट बच्चा रोइरहेको आवाज आयो। स्थानीय रामा श्रेष्ठ हेर्न गइन्। उनले मकैबारीको बीचमा सालनालसहितको बालक देखिइन्। तत्काल प्रहरीको १०० मा फोन गरेर सबै सुनाइन्। प्रहरीको गोर्कण बिटबाट सई रामेश्वर खड्कासहितको टोली बालक भेटिएको स्थानमा पुग्यो। प्रहरीले बेवारिशे अवस्थामा फालएका शिशुको उद्धार गरी अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा लग्यो।

अहिले अस्पतालको एनआइसियुमा राखेर शिशुको उपचार भइरहेको छ। डाक्टर सत्यम रिमाल नेतृत्वको टोली शिशुको उपचारमा खटेको छ। अस्पतालले दिएको जानकारीअनुसार शिशु स्वास्थ्य स्थिर छ। ‘अस्पताल लाउँदा सुरूमा उनलाई श्वासप्रश्वासमा केही समस्या देखिएको थियो,’ अस्पताल स्रोतले भन्यो, ‘अहिले उनी स्वस्थ छन्।’ २ केजी २० ग्राम तौलका ती शिशुलाई मकैबारीमा कसले फाल्यो भन्ने खुल्न सकेको छैन।

घटनाबारे सुक्ष्म रूपमा अनुसन्धान अघि बढाएको बौद्ध प्रहरीका डिएसपी नरेन्द्र चन्दले बताए। बुधबार राति कसैले शिशुलाई मकैबारीमा फालेको हुन सक्ने उनको अनुमान छ। महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डिआइजी शैलेश थापा क्षेत्रीका अनुसार यसरी भेटिएका बालकहरूको स्वास्थ्यलाई ध्यानमा दिएर अस्पतालमा नै राखिन्छ। स्वास्थ्य ठीक भए उनीहरूलाई अस्पतालबाट डिस्चार्ज गरी सुरक्षित स्थानमा सारिन्छ। अभिभावक एकिन नभए संरक्षण गर्ने संस्थामा हस्तान्तरण गरिन्छ।Setopat