जानकी जन्मोत्सव भोली, राष्ट्रपति भण्डारी सहभागि हुने

61

बैशाख २९,
जनकपुरधाम । जनकपुरधाममा जानकी जन्म महोत्सव भोली सोमबार हुनेछ । बैशाख शुक्ल नवमीका दिन हुने सो जन्मोत्सवको अवसरमा विशेष पूजाअर्चन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी पनि जनकपुरधाम आउने कार्यक्रम रहेको छ । विहान ९ बजे हेलिकप्टरवाट जनकपुरधाम आउने कार्यक्रम रहेको छ । जानकी मन्दिरमा मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले स्वागत गर्ने मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले जानकारी दिएका छन ।

१५ दिवसीय जानकी नवमी महोत्सव राम कथा वाचनकासाथ विधिवत रुपमा शुरु केहीदिन अघि नै भइसकेको छ । जानकी नवमी महोत्सवको पहिलो दिन राम कथा प्रवचन, नवाह रामायण पाठ र साँझमा बधाई मंगलगान कार्यक्रम भइरहेको छ । जानकी नवमीमा शोभा यात्रा, दुधमती शाही स्नान, रामायण मेला, राम र सीतालाई केन्द्रित गरी कवि गोष्ठी, रामायणमा आधारीत प्रश्नोत्तर प्रतियोगिता, मिथिला चित्रकला सम्बन्धी प्रदर्शनी, प्रादेशिक भाषाको सांस्कृतिक कार्यक्रम सहितको कार्यक्रमहरु गरिने छ ।

महोत्सवमा राम कथाका लागि वृन्दावन उत्तर प्रदेश भारतबाट वाल व्यास संत हरिशरण उपाध्यायलाई बोलाइएको छ । जानकी नवमी महोत्सवका लागि जानकी मन्दिरलाई भव्य रुपमा सजाउने कार्यहरु भइरहेको छ । मन्दिर अहिले दुलही झै सजिएको छ । जानकी नवमी महोत्सव शुरु भएसंगै श्रद्धालुहरुको घुइँचो समेत जानकी मन्दिरमा बढेको छ ।

सन् १८९४ मा शिलान्यास भई सन् १९११ मा मन्दिर निर्माण पूरा भएको थियो । मन्दिर मिथिलाञ्चलबासीका लागि सांस्कृतिक धरोहर पनि हो । मन्दिरको वाषिर्क क्यालेन्डर अनुसार जन्मदेखि मृत्युसम्म प्रायः सम्पूर्ण क्रियाकलाप मिथिला विधि अनुरूप हुने गरेको छ । राम जन्मको अवसरमा हरेक चैत्रमा रामनवमी, वैशाखमा जानकी नवमी, मंसिरमा रामजानकी विवाह महोत्सव, असोज पूणिर्मामा कोजाग्रत, साउन/भदौमा झुला, फागुनमा परिक्रमालगायत मनाइनु यसका उदाहरण हुन् ।

प्रत्येक महिनाका पूणिर्मामा हजारौ श्रद्धालु भक्तजन सहभागी हुन्छन् । यस मन्दिरलाई नेपाल सरकारले विश्व सम्पदा क्षेत्रमा सुचिकृत गर्न प्रयास जारि राखेको छ । धार्मिक र सास्कृतिक हिसाबले सम्पन्न मैथिली सभ्यताको धरोहरको रुपमा रहेको छ ।भारत मध्य प्रदेशस्थित टिकमगढकी राजकुमारी वृषभानु कुँवरीले ९ लाख चाँदीका असर्फी खर्चेर निर्माण गराएको मन्दिर भएकाले यसलाई नौलखा मन्दिर पनि भनिन्छ ।RAjdhani national daily