असार ३,
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गरेपछि मंगलबारको प्रतिनिधि सभा बैठक स्थगित भएको छ । प्रधानमन्त्रीले सम्बोधन गर्नुअघि आफ्ना संसदीय दलका नेता शेरबहादुर देउवालाई बोल्न नदिएको भन्दै कांग्रेस सांसदले विरोध गरेका थिए । बैठक सुरु हुने बितिकै सभामुख कृष्णबहादुर महराले प्रधानभन्त्री केपी ओलीलाई सम्बोधनका लागि समय दिएका थिए। तर कांग्रेसले आफ्नो दलका नेतालाई बोल्न नदिएको भन्दै नाराबाजी सुरु गरे। सभामुख कृष्णबहादुर महराले पटकपटक प्रधानमन्त्रीको कुरा सुन्न आग्रह गरिरहँदा पनि प्रतिपक्षी दलका सांसद नाराबाजी गरी रोस्टम घेराऊ गरिरहे।
प्रतिनिधिसभा संसदमा मंगलबार बिहान ११ बजे प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भए पनि प्रतिपक्षी दलका मागका कारण १२ बजेमात्र सुरू भएको थियो।कांग्रेसले सभामुख कृष्णबहादुर महरालाई भेटेर संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्रीभन्दा पहिला बोल्न दिनुपर्ने माग गरेको थियो।कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसाल गौतमले गुठी विधेयकलगायत समसामयिक राजनीतिक घटनाक्रमका विषयमा संसदीय दलका नेताले सदनमा बोल्न पाउनु पर्ने माग सभामुखलाई भेटेरै जानकारी गराएको बताइन्।
प्रधानमन्त्री बोल्नका लागि रोस्टममा पुगेर केही नबोल्दै सभामुखले बैठक स्थगित गरे । बैठक बुधबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ।