भक्तपुर नगरपालिकाले सुरू गर्‍यो शैक्षिक ऋण दिन

241

जेठ २७
भक्तपुर । भक्तपुर नगरपालिकाले आईतवारदेखि नगर क्षेत्रभित्र स्थायी बसोबास गर्ने जेहेनदार तथा विपन्न विद्यार्थीहरूलाई शैक्षिक योग्यताको प्रमाणपत्र (एकेडेमिक सर्टिफिकेट) धितो राखेर सहुलियत ब्याज दरमा रु. ५,००,००० सम्मको शैक्षिक ऋण वितरण शुरु गरेको छ । भक्तपुर नगरपालिकाद्वारा आइतबार आयोजित शैक्षिक ऋण वितरण कार्यक्रममा बोल्नुहुँदै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आर्थिक अभावका कारण कुनै पनि विद्यार्थी पढाइबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यले भक्तपुर नगरपालिकाले प्रति विद्यार्थी रु. ५ लाखसम्म ६ प्रतिशतको सहुलियत ब्याज दरमा ऋण प्रदान गर्ने व्यवस्था गरेको बताउनुभयो । भक्तपुर नगरपालिकाले चिकित्सा क्षेत्रमा उच्च जनशक्तिको अभावलाई ध्यानमा राखेर २ जना एमबीबीएस डाक्टरहरूलाई उच्च शिक्षाको लागि छात्रवृत्ति दिने निर्णयअनुसार प्रक्रिया अगाडि बढाइरहेको बताउनुहुँदै विद्यार्थीको उज्ज्वल भविष्यको निम्ति ख्वप विश्वविद्यालय स्थापना गरी समाजलाई बुद्धिजीवीकरण गर्न योगदान गर्ने लक्ष्य रहेको बताउनुभयो ।

कार्यक्रममा उपप्रमुख रजनी जोशीले विद्यार्थीको रुचिअनुसार अध्ययन गर्न विद्यार्थीलाई प्रेरित गर्नुपर्ने बताउनुहुँदै भक्तपुरको कला–संस्कृति, रीतिरिवाज र स्थानीय चाड–पर्वबारे जानकार गर्नुपर्छ भन्नुभयो । उहाँले इतिहास, भूगोल, राजनीतिशास्त्र, संस्कृति, नेपालभाषा विषय पढ्ने विद्यार्थीहरूलाई आकर्षित गर्न नगरपालिकाको तर्फबाट छात्रवृत्ति प्रदान गर्दै आएको बताउनुभयो ।कार्यक्रममा भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत यामलाल अधिकारीले दक्ष जनशक्ति उत्पादन भए समाजलाई व्यवस्थित ढंगले अगाडि बढ्न सकिने हुँदा भक्तपुर नगरपालिकाले उच्च शिक्षा हासिल गर्ने विद्यार्थीहरूको लागि शैक्षिक ऋणको व्यवस्था गरेको बताउनुभयो । कार्यक्रममा भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवां र वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले नगरपालिकाद्वारा वितरण हुने शैक्षिक ऋणबारे आवश्यक प्रक्रियाहरू, शैक्षिक ऋणको सीमा तथा शर्त र सावा ब्याज असुलीबारे प्रस्ट पार्नुभएको थियो ।