विमानस्थलमा यात्रुको बिचल्ली

118

असार २७, काठमाडौँ — नेपालगन्जबाट आएको यति एयरलाइन्सको एटीआर विमान काठमाडौँ विमानस्थलमा अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर घाँसे मैदानमा अड्किएका कारण शुक्रबार बिहान ११ः५ पछि अवरोध छ । विमानस्थल व्ययवस्थापनले पाचौंपटक समय सार्दै नोटाम जारी गरेर विमानस्थल ७ बजेसम्मलाई बन्द गरेको छ । बिहान ९ बजेदेखि चेकइन गरेका सयौँ यात्रु त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा अलपत्र अवस्थामा छन् । विमानस्थलमा यात्रुहरुलाई बस्ने ठाउँ छैन । कतिपय भुईँमा सुत्न बाध्य छन् । शौचालय, क्याफे लगायतका स्थानमा भिड छ । धावनमार्गमा के कति प्रगति भइरहेको छ भन्नेबारे आधिकारिक सूचना प्रवाह भइरहेको छैन ।

यतिको यो ७२ सिट क्षमताको जहाज धावनमार्ग बाहिर भए पनि अन्य वायुयान उडान र अवतरणमा अवरोध गर्छ । नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलका अनुसार, यो जहाज धावनमार्गको किनारादेखि करिब १५ मिटरको दुरीमा छ । धावनमार्गदेखि १५ मिटर परसम्मको क्षेत्रफलमा कुनै पनि वस्तु हुनहुदैन । यस्तो हुनुलाई रनवे अप्स्ट्याकल मानिन्छ । यो विमान झिक्न विमानस्थलसहित नेपाली सेना, प्रहरी, बुद्ध एयर, नेपाल वायुसेवा निगम र यतिकै इन्जिनियर लगायतका प्राविधिकहरु लागिरहेका छन् ।