जेठ १२,
जनकपुरधाम । धनुषाको कमला नगरपालिकामा गए राती एक जना युवक दुर्घटनापछि रातैभरि सडक पेटीमै छटपटाए । निर्माण भईरहेको फाटकमा सुपरभाईजर रोशन झा साथीसँगै काम गर्न निस्केका मोटरसाइकल दुर्घटनामा परे । झा कमला नगरपालिका वडा नं। २ सराबे स्थित निर्माण भईरहेको फाटकमा सुपरभाईजरको काम गर्छन् ।
दुर्घटनामा परेर बेहोस भएपछि साथीहरूले साथ छाडे । बेहोसी अबस्थामा उनलाई साथीहरूले मृत्यु भयो भनेर भागे । विहानीपख खेततर्फ निस्केका स्थानीयहरुले झालाई सडक पेटीमा अलपत्र परेको देखेपछि प्रहरीलाई खबर गरे । साथीहरूले मरिसक्यो भनी छाडेका उनलाइ स्थानीयले जिवित भेटे । ज ४ प ३६७७ नम्बरको मोटरसाईकलमा सबार झा गएराती करिब १२ बजेतिर काम सकेर जनकपुर जान लाग्दा अनियन्त्रित भएर दुर्घटना भएपछि आफु होसमा नरहेको झाले बताए ।
दुर्घटनापछि म वेहोस भएपछि साथीहरू कता भागे मैले पत्तो पाइन, उनले भने, ‘जब मोटरसाइकल चिप्लियो, म सडक पेटीमा गएर ठोक्किँए, साथी आए र मलाई देखेर टाप कसे । त्यति बेला म बोल्न सक्ने अवस्था थिएन, तर सुन्न सक्थेँ । साथीले छाडेर भागेपछि धेरै पीडा भयो । रातैभरि मलाई सडक पेटीमा कसैले पनि देखेनन् र अलपत्र परेर रातैभरि सडक पेटीमै छटपटाएँ ।’
तिनकौरियाबाट गएको प्रहरी टोलीले उनलाई उद्धार गरेका थिए । उनको अनुहारमा गम्भिर चोट लागेको छ भने आँखा पूर्ण रुपले खोल्न सकेका छैनन् । उद्धारपछि उनको अस्पतालमा उपचार भइरहेको छ ।-rajdhanidaily.com