Saturday, September 26, 2026
Home पत्रपत्रिका ११ हजारभन्दा बढी कर्मचारी माग्दै संघीय लोकसेवा, स्थानीय सरकार असन्तुष्ट

११ हजारभन्दा बढी कर्मचारी माग्दै संघीय लोकसेवा, स्थानीय सरकार असन्तुष्ट

157

सुनील महर्जन (नेपाल समाचारपत्र)
जेठ ६, काठमाडौं । लोकसेवा आयोगले केही दिनभित्रै स्थानीय तहका लागि ११ हजार ३ सय ४६ जना कर्मचारी माग गर्दै सूचना निकाल्ने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा अपुग कर्मचारीको विवरण आयोगमा पठाएपछि यस्तो गृहकार्य थालिएको हो । यसअघि मन्त्रालयले सबै स्थानीय तह ७ सय ५३ लाई रिक्त दरबन्दी संख्यासहितको विवरण पठाउन पत्राचार गरेलगत्तै ४ सय ३४ स्थानीय तहले ११ हजार ३ सय ४६ जना कर्मचारी अपुग रहेको विवरण मन्त्रालयलाई पठाएका थिए ।

आयोगका अनुसार ८० प्रतिशतभन्दा बढी खरिदार, नायब सुब्बा ‘प्राविधिक र प्रशासनिक’ का लागि भर्ना खुलाइनेछ । यसपछि क्रमशः अधिकृत र अन्य स्तरका कर्मचारी भर्नाका लागि विज्ञापन खोलिनेछ ।
यसअघि मन्त्रालयले गत चैत्र १४ गते संघ, प्रदेश र स्थानीय तहमा गरी १ लाख ३१ कर्मचारीको समायोजन गरेको थियो । स्थानीय तहमा कायम गरिएको ६६ हजार ९ सय ८ दरबन्दीमध्ये ५० हजार ७ सय ९० कर्मचारी समायोजन गरेको थियो । सोअनुसार अझै १६ हजार १ सय १८ कर्मचारी अपुग देखिन्छ ।

अहिलेको समायोजनअनुसार केन्द्रमा ३९ हजार ९ सय ६०, प्रदेशमा १३ हजार ८ सय २१ र स्थानीय तहमा ४३ हजार ८ सय ७ कर्मचारी छन् । सरकारले संघमा ४८ हजार ४ सय ९, प्रदेशमा २२ हजार २ सय ९७ दरबन्दी स्वीकृत गरेको थियो ।
संविधानमा प्रदेश लोकसेवामार्फत प्रदेश र स्थानीय तहमा कर्मचारी भर्ना गर्ने प्रावधान रहे पनि प्रदेश लोकसेवा आयोग नबनेको अवस्थामा छोटो प्रक्रियाबाट कर्मचारी नियुक्त गर्न भर्ना प्रक्रिया थालिएको मन्त्री लालबाबु पण्डितले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो ।