कविताः पितृसत्तात्मक देशकी छोरी

142

-आर्चाय पवित्रा

हे पितृ सत्ता
त मलाई सम्हालिन सिका
मलाई ईज्जत् सिका
बिस्तारै हिड्न सिका
झुकेर बोल्न सिका
किनकि म छोरी हुँ
अल्लि छिटै…
बहकिन सक्छु ।

एउटा चकलेट ल्याएर दियो
छोरी भन्दै मायाले बोलायो
छातिमा टास्यो
मुख छोप्दियो म बोल्न सकिन
अनि रगत बग्यो
मैले भन्न खोजे
तर जवाफ आयो
चुप बस ईज्जत् जान्छ
किनकि यो पुरुष प्रदान
पितृसत्तात्मक देश हो
अनि म छोरी हुँ ।

नराम्री भए कुरुप उपनाम
राम्री भए रुपको घमण्डि
अनि पोखिन्छ एसिड
म रुन्छु अनि…
रमाउछ पुरुष प्रदान सत्ता ।

यो यहि समाज हो
जस्ले जस्ले मेरा लागि
रातिको कर्फ्यु लगायो
राम्रो घरको छोरी
राति बाहिर जानू हुदैँन सिकायो
छोरी हुँ बिस्तारै बोल्न पर्छ सिकायो
शिर सधै झुकाउन सिकायो
अनि सँगै पुरुष को ईच्छा मा
मेरा ईच्छा सुम्पिन सिकायो
म बोलिनँ सिकिरहें
किन कि म छोरी मान्छे हुँ
अनि यो समाज पुरुष प्रधान
पितृसत्तात्मक देश हो।

वा पितृ सत्ता तँ संग भेटेर खुसि लाग्यो
तर सायद तँ खुसी नहोलास यो सुनेर
कि तैले सिकाएको सबै कुरा खेर गयो
यो शिर अब बिना गल्ति झुक्दैन
यो मुखमा मौनता होईन,
कैँची जस्तै चल्ने भएको छ ।
यी पाईला गन्तव्यमा नपुगि नरोकिने भएका छन् ।

तर,
पितृ सत्ता तँ तेरो कोसिस जारि राख
किनकि हरेक छोरीहरु बहकिएका छन् ।
अब तेरो अघि शिर झुक्दैन
स्वाभिमान ले उठाउछन् ।
हरेक छोरी बहकिएका छन् ।