‘भौतिक कुरा नभएपछि माया फिक्का लाग्यो भन्ने भाव हो ‘

384

सन् १९९० को दशकमा हामी भुटानको दक्षिणी भेगमा बसोबास गर्ने नेपाली बासी भुटानीहरूले निक्कै कष्टकर जीवन बिताउनु परेको थियो । शरणार्थी जीवनको भोगाईलाई नर्कको दोस्रो जीवन भनेर सम्झन्छौं हामीहरू । भुटानबाट लखेटिएपछिको हाम्रो पहिलो बास केहि महिना नेपालको झापास्थित माइखोलाको बगरमा भयो । प्राण बचाउन मुस्किल भएपछि खैनीको बट्टामा चामल मागेर बिताउनु परेको कहालीलाग्दा ति काला दिनहरू अझै पनि सम्झनामा ताजै छन् । छाप्रोमा १८ बर्ष लामो र दुःखदायी जीवन बिताउँदाको पलाहरूले जन्माएको यो उपन्यास हामी सबै भुटानीहरूको कथा हो । म नारी पात्रको रूपमा प्रस्तुत भएपनि यो उपन्यास मेरो आफ्नै भोगाईबाट जन्मिएको कृति हो । ति, मोरङ र झापाका विभिन्न ठाउँहरूको अनिश्चित शरणार्थी शिविरमा बितेको बालापन हामीलाई प्यारो लागेर होला ति कहालीलाग्दा दिनहरू सम्झने मन नभए पनि नेपालको भने अझै धेरै माया लाग्छ, सम्झना आउँछ र आफ्नै झैं लाग्छ ।

‘नेपालको त्यो खोला नाला, वनजंगल र ढुङ्गा माटोमा अझै हाम्रो गन्ध भेटिन्छ झैं लाग्छ । यो भनाई मेरो होइन ।’ भर्खरै बजारमा आएको उपन्यास ‘छाप्रो नम्बर ५५’ को लेखक रमेश दियालीको हो । उहाँ भुटानबाट आएर १८ वर्ष शरणार्थी भई नेपालमा रही हाल पुनर्वासको शिलशिलामा अमेरिका पुग्नु भएकोछ, सुनौं र पढौं उही उपन्यासकारसँग नयाँ नेपाल न्युज डटकमका लागि बेलायतबाट जानु काम्बाङ् लिम्बूले गरेको कुराकानी ।

हाल तपाईं के गर्दै हुनुहुन्छ ?
-साहित्य, संगीत र कलामा जीवन खोजीरहेको छु ।

उपन्यास छाप्रो नम्बर ५५ ले कस्तो प्रतिक्रिया बटुली रहेछ बजारमा ?
-राम्रो छ । कतिले पढ्नु पनि भाको छैन भने कतिले पढी सक्नु भएकोछ । उहाँहरूले धेरै राम्रो प्रतिक्रिया दिइरहनु भएकोछ । पाठकहरूको मायाले म फुरूङ्ग नै छु ।

यो उपन्यास तपाईंको पहिलो हो कृति हो कि ! अरु पनि छन् कृतिहरू ?
-कृतिको हिसाबमा यो पहिलो हो । फुटकर कथा कविताहरू त धेरै छन् ।

तपाईंलाई यो उपन्यास लेख्न के ले उत्प्रेरित गर्यो ?
-मेरो बाबाले । जब म सानो थिए मेरो गुच्चा खेल्ने चोर औलामा लौराले हिर्काउदै ‘क’ लेख्न नसिकाएको भए सायद यो मेरो उपन्यास पनि जन्मने थिएन । तसर्थ उहाँ नै मेरो प्रेरणाको श्रोत हुनुहुन्छ ।

तपाईं आख्यान विधामा मात्र कलम चलाउनु हुन्छ कि ! अरु विधामा पनि कलम चलाउनु हुन्छ ?
-पछिल्लो समयमामा मलाई आख्यान प्रति आकर्षण बड़ी भयो । कुनै बिषयले मनमा घोचे पछि लेख्ने हो । कुनै बिषयहरूले मलाई अहँ ! पटक्कै छुदैन तर कथा कविता र गजलमा छुन सक्छ । यस अर्थमा गजल र कविताहरूमा पनि कलम दौडिन्छन् ।

कति भयो छाप्रो नम्बर ५५ बजारमा आएको ?
-पहिलो संस्करण २०७५ कात्तिकमा प्रकाशन भएको हो । लगभग ६ महिना जति भईसक्यो ।

अब के गर्ने बिचारमा हुनुहुन्छ ?
-एउटा मुभिको स्क्रिप्टमा छु अहिले । त्यसपछि के गर्छु सोचेको छुइनँ ।
तपाईं भूटानी नागरिक भएर पनि यति राम्रो नेपाली भाषा बोल्न र लेख्न सक्नु हुन्छ ! नेपाली भाषा कसरि

सिक्नु भो ? या भूटानमा पनि यो विषय पढाई हुन्थ्यो ?
-हरेक भाषाका एउटा निश्चित अक्षरहरू हुन्छन् । अक्षर सिर्जना भने होईन । भूगोल नागरिक र सिमानाले बाध्न सक्दैन साहित्य र कलालाई । मेरो अक्षरहरूको सुरूवात नै नेपालबाट भयो । भूटानमा नेपाली पढाई हुदैन थियो भन्ने मात्र सुनेको हो ।

तपाईं अमेरिका जानु भएको कति भो ?
-अमेरिका बसेको पनि लगभग १० बर्ष भैसक्यो ।
उपन्यासको भूमिकामा म नारी पात्रको रूपमा प्रस्तुत भएपनि यो कथा मेरो आफ्नै भोगाई हो भन्नु भएको छ !

तपाईंले पुरुष पात्र भएर लेखेको भए कथाले कस्तो मोड लिन्थ्यो ?
-सृष्टिचक्र अनुसार नारीमा जुन शक्ति छ त्यो पुरूषमा देखिदैन । कथामा नारी पात्रलाई पात्रको रूपमा मात्रा उभ्याएको हो तर कथा समग्रमा भूटानीहरूकै कथा हो । यस अर्थमा पुरूष र नारी समान छन । सायद पाठकहरूले यो कुरा बुझेका छन ।

यो उपन्यास लेखिसक्नु कति समय लाग्यो ?
-मेरो आफ्नै भोगाई अथवा, म आफै एक अदृश्य पात्र भएकोले होला, यो किताब सक्नु मलाई ६ महिना जति मात्र लाग्यो ।

तपाईंको लेखन शैली मलाई निक्कै राम्रो लाग्यो, पुर्बका ति परिचित ठाउँ हरूलाई सारै गज्जबले उतार्नु भएकोछ ! त्यो लामो १८ बर्ष दुःख गरी बिताएको गाउँठाउँको याद आउंदैन अचेल ?
-आफ्ना ति रहर लाग्दा बालापनमा उडाएको धुलो, खेलेका खोप्पी, गुच्छाका दाना र वस्तीहरूले अझै मलाई खोजिरहेका होलान् जस्तो लाग्छ । तिनै यादहरूले नै जन्माएका हुन् यो ‘छाप्रो नं. ५५’ । वास्तवमा आफू खेलेको ठाउ राम्रो होस या नराम्रो, जस्तो भए पनि भूल्न कसैले सक्दैन ।

उपन्यासको मुख्य पात्र नायिका गंगाले अन्तिममा आफ्ना स्वर्गीय पतिका आमा बुबा अथवा सासु ससुरालाई छाडेर हिड्दा माया लागेन ?
-भावना र यथार्थ फरक छन । माया भावना हो भने पुनर्वास यथार्थ हो । अभावको गहिराई देखि जीवनको प्रेमिल अवस्थासम्म आइपुग्दा गंगापात्र रित्तो भई सकेको थिई । भौतिक सुविधा दिने कुनै चिज नै बाँकी नभएपछि माया फिक्का लाग्यो भन्ने भाव हो ।

एक मात्र सहारा बुहारी गंगाले छाडेर हिडे पछि ति बुढा बुढीको के हाल भो होला भनि मैले जस्तै अरु पाठकले पनि सेधे होलान् कि ?

-धेरै पाठकहरू मुख्य जिज्ञासा नै यहि छ । र मैले लेख्न छुटाएको पनि यहि नै हो । त्यसैले सबैसँग क्षमा माग्दै अर्को संस्करणमा सुधार्ने प्रण गर्दछु ।

तपाईँले भुटान छाड्दा कति वर्षको हुनुहुन्थ्यो ?
-मलाई त यादै छैन । आमा भन्नु हुन्छ हामीले भुटान छाड्दा २ बर्षको मात्र थिएँ रे ।

१८ वर्ष बिताएको देश छाडेर अमेरिका उड्दा रसाउने आँखाहरू भावनामा नायिकाको भएपनि यथार्थमा त लेखक कै थिए नि होइन र ?
-एक लाख भूटानी शरणार्थीहरूका आँखा र तिनकै आँसु थिए । गंगा त पात्रा मात्रा हुन् । भावना होईन वास्तवमै हो ति आँखाबाट आँसु नचुहिएको कसैको थिएन नेपाल छोड्दा । नेपालको जय जय होस् ।

यो उपन्यासले एउटा सिङ्गो ईतिहाँस रचेको छ शिविर र त्यहाँ बसोबास गर्नेहरूको, तपाईं सँगसँगै सिविरमा दिन बिताउने दौंतरी साथी भाईहरूबाट कस्तो प्रतिक्रिया बटुल्दै हुनुहुन्छ ?
-१० बर्षको जनयुद्धले त कति धेरै द्वन्द्व र पीरव्यथा दिलायो समाज, गाउँबस्ति मात्र नभएर सिङ्ग्गो देशलाई नै, भने हामीले त ८ बर्ष बढि युद्ध लडेका छौं । भलै, हामीसँग जनयुद्धका लडाकुहरूको जस्तो बम बन्दुक र गोला बारूद थिएन तर, ति दिनहरू लडाईं भन्दा कमका थिएनन् । तेसैले १८ बर्ष सम्म देश बिहिन भएर बाँचेको कथा अझै सम्झन मन छैन भन्छन्, तर, देश गुमाएर अनागरिक हुनुपर्दा शिविरमा बिताएका कष्टकर जीवनलाई जस्ताको तस्तै उतार्नु भएको रहेछ भन्ने प्रतिक्रिया दिन्छन् र कति साथीहरू त फिल्म हेरेजस्तै भयो भन्छन् ।

यो उपन्यास मेरो आफ्नै भोगाई हो भन्नु भएको छ नायिकालाई अमरिकाको एयरपोर्टमा पर्खिरहने देव कतै तपाईं नै त होइन ?
-हा… हा…. होईन, होईन । म देव हुनै सक्दिनँ । देवको जस्तै धैर्य छैन म मा ।

अब अन्त्यमा मैले सोध्न भूलेको र तपाईंलाई सोधिदिए हुन्थ्यो जस्तो लागेको केहि कुरो छुटेको भए खुलेर समेट्न सक्नु हुन्छ …
-छैन, सबै चिरफार गरिदिनु भो ! त्यहि हो ‘छाप्रो नम्बर ५५’ को यथार्थ । तपाईं लगायत नयाँ नेपाल न्युज  डटकमलाई अनेक धन्यवाद भन्दै एकपल्ट ‘छाप्रो न. ५५’ उपन्यास सबैले पढिदिन हुन अनुरोध गर्दछु । यहाँहरूको माया, आशिर्वाद, शुभेक्षा र टिका टिप्पणीले नै मलाई थप उर्जा र सुधार्ने मौका दिनेछ । यो उपन्यास यहाँसम्म आईपुग्न मञ्जरी पब्लिकेशनको ठूलो सहयोग छ । धेरै घन्यवाद दिन चाहन्छु । र अन्त्यमा, सम्पूर्ण पाठकलगायत यहाँहरू सबैप्रति नमन ।