गहुँबारी खन्दै जाँदा ……..यस्तो भेटिएपछि

143

नेपाल समाचारपत्र
बैशाख २०, दुल्लु । तत्कालीन सिंजा राज्यकालको समयमा राजारानीले नुहाउने ढुङ्गेधारा उत्खनन गरिएको छ । दुल्लु नगरपालिका–५ मुडेदेवलको भूमेथानमा जमीनमुनि ढुङ्गेधारा रहेको बुढापाकाको भनाइलाई ध्यानमा राखेर थालिएको उत्खननपछि धारा भेटिएको हो । दुल्लु नगपालिका–५ को बजेटबाट चैतको दोस्रो हप्तादेखि शुरु गरिएको उत्खनन सकिएको छ । उत्खननपछि एउटै ढुङ्गाबाटै धारालगायतका ऐतिहासिक कलात्मक कपडा फेर्ने ठाउँ पनि ढुङ्गाबाटै बनाइएको भेटिएको छ ।

त्यतिबेला अहिलेको जस्तो सुविधा नभए पनि ढुङ्गाबाटै दुई कपडा फेर्ने कोठासमेत बनाइएको उत्खननपछि भेटिएको दुल्लु नगरपालिकाका नगरप्रमुख घनश्याम भण्डारीले बताउनुभयो । अब दुल्लु नगरपालिकाले यो धारालाई पर्यटकीयस्थलका रुपमा विकसित गर्नका लागि आवश्यक बजेटसहित व्यवस्थापन गर्ने तयारी गरेको नगरप्रमुख भण्डारीले बताउनुभयो । आफैँमा ऐतिहासिक र मौलिकता भएको धारा फेला परेपछि अहिले त्यसलाई हेर्न आउनेहरुको घुइँचो लागेको स्थानीयवासी निरक शाहीले बताउनुभयो ।

बुढापाकाले त्यहाँ धारा रहेको सुन्दै आएको र अहिले दुल्लु नगरपालिका– ५ को बजेटबाट के रहेछ भनेर उत्खनन शुरु गरिएको थियो । “उत्खननपछि जमीनमुनि कलाकौशलले ढुङ्गामै कुदिएका धारा भेटियो”, नगप्रमुख भण्डारीले भन्नुभयो, “थप उत्खनन गर्दै जाँदा धारामा पानी पनि आयो, ढुङ्गाबाटै बनाइएको दुई कपडा फेर्ने कोठा पनि धारासँगै जोडिएको अवस्थामा भेटियो, अहिले उत्खनननकार्य सकिएको छ ।”