नेपाल समाचारपत्र
चैत २५, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र चुलिएको आन्तरिक विवादका कारण एघार महिनादेखि सांगठानिक एकता प्रक्रिया अलपत्र परेको छ । तीन महिनाभित्र टुंगो लगाउने भनिएको सांगठानिक एकताको काम एक वर्ष पुग्न लाग्दा समेत टुंगो लाग्न सकेको छैन् । सांगठानिक एकीकरणको काम टुंगो लगाउन गठित कार्यदल पनि असफल हुँदै आएको छ । पार्टी एकताको बाँकी काम पूरा गर्न अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच ठूलो विवाद छैन् । पूर्व सहमति अनुसार पूर्व दुई पार्टीले लिने पदको विषयमा समझदारी भइसकेको छ । पूर्व एमालेभित्रकै विवादको कारण एकताको काम प्रभावित भएको छ । अध्यक्ष ओलीले आफू निकटका व्यक्तिहरुलाई पनि पदिय जिम्मेवारी दिने गरी खाका तयार गरेको आरोप लगाउदै वरिष्ठ नेता माधव कुमार नेपालले समानान्तर कमिटी बनाउने चेतावनी दिनुभएको छ ।
सांगठानिक एकताको कामले गति लिन नसक्दा आठ लाख कार्यकर्ता जिम्मेवारी विहीन अवस्थामा छन् । शीर्ष नेतृत्वमा देखिएको टकरावको कारण पार्टी एकीकरण घोषणा भएकै दिन गठित ४ सय ४१ सदस्यीय केन्द्रीय सदस्यहरुले समेत जिम्मेवारी पाउन सकेका छैनन् । अध्यक्षद्वय ओली र प्रचण्डबाहेक न सचिवालयका अरु नेताहरुले भूमिका पाएका छन न स्थायी समितिका नेताहरुले ।











