Sunday, September 27, 2026
Home समाचार भैँसेपाटीस्थित एनसेल मुख्यालयमा बम विस्फोट हुँदा घाइते भएका गुरुङको मृत्यु

भैँसेपाटीस्थित एनसेल मुख्यालयमा बम विस्फोट हुँदा घाइते भएका गुरुङको मृत्यु

110

नयाँ पत्रिका,
फागुन ११, काठमाडौं-ललितपुरको भैँसेपाटीस्थित एनसेलको कार्यालयमा शुक्रबार बेलुका भएको बम विस्फोटमा परी गम्भीर घाइते भएका सिंहप्रसाद गुरुङको मृत्यु भएको छ । उनको मेडिसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको ललितपुर प्रहरी परिसरका डिएसपी अपिल बोहोराले जानकारी दिए । उनी पूर्व ब्रिटिस आर्मी हुन् । शुक्रबार बेलुका ८ बजेर ५ मिनेटको समयमा भएको विस्फोटमा परी प्रतीक्षा खड्का र उरुषा मानन्धर घाइते भएको प्रहरीले जनाएको छ । घाइतेको पनि मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।

विस्फोटका कारणा एनसेलको कार्यालयभित्र समेत क्षति पुगेको छ । घरका सिसाहरू फुटेका छन् । प्रारम्भिक अनुसन्धानमा प्रेसर कुकर बम विस्फोट गराइएको हुन सक्ने महानगरीय प्रहरी परिसर ललितपुरका डिएसपी अपिल बोहराले बताए । घटनास्थलमा कुनै पर्चा भेटिएको छैन भने कसैले जिम्मेवारी पनि लिएको छैन । प्रहरीले विभिन्न कोणबाट घटनाको अनुसन्धान थालेको छ ।

गत ८ माघमा राजन तिमल्सिनाको नेतृत्वमा तीनजना चन्दा माग्न एनसेल मुख्यालय गएका थिए । चन्दा नदिएपछि उनीहरूले नै विस्फोट गराएको आशंका गरिएको छ । विस्फोट गराउने समूहबाट अनुसन्धान सुरु भएको र छिटै पक्राउ गरिने महानगरीय प्रहरी आयुक्त डिआइजी शैलेश थापाले बताए ।

कमलपोखरीमा पनि बमआतंक
शुक्रबार साँझ नै कमलपोखरीमा शंकास्पद वस्तु भेटिएको छ । ल्होत्सेचोकस्थित आँगन रेस्टुरेन्टमा बमजस्तो शंकास्पद वस्तु भेटिएको हो । सेनाले सो वस्तु डिस्पोज गरेको छ । ‘मेरो झोला हेरिदिनु ल’ भनेर एकजना युवा केही मिठाई अर्डर गर्न गएको केही समयसम्म फर्केर नआएपछि कर्मचारीले झोला खोलेर हेर्दा बम देखेपछि प्रहरीलाई खबर गरेका थिए । दुवै घटनामा एउटै समूह संलग्न रहेको आशंका गरिएको छ ।