सरकारको नयाँ कदमः अब प्रदेशबाटै स्मार्ट लाइसेन्स

75

समाचारपत्र दैनिक/मधुसूदन रायमाझी,
फागुन २, काठमाडौँ । सरकारले प्रदेश कार्यालयबाटै सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) प्रिन्ट हुने गरी अधिकार प्रत्यायोजन गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मन्त्रीस्तरीय निर्णयानुसार अब प्रदेश कार्यालय मातहत रहने यातायात कार्यालयबाटै स्मार्ट लाइसेन्स प्रिन्ट हुने भएको हो । समयमा नै स्मार्ट लाइसेन्स नपाइएको गुनासो बढेपछि उक्त अधिकार प्रत्यायोजन गरिएको हो । यस्तै विभागबाट मात्र लाइसेन्स छापिँदा प्रदेशमा पुग्न समय लाग्ने र लाइसेन्स पाउन महिनौँ कुर्नुपर्ने भएपछि प्रदेश सरकारमार्फत लाइसेन्स वितरण गर्न लागेको बताइएको छ । विभागले देशभरका स्मार्ट लाइसेन्स प्रिन्ट गर्दै आएकोमा अब प्रदेशअन्तर्गत रहने यातायात कार्यालयबाट नै त्यसको प्रिन्ट हुने तयारी अगाडि बढाइएको छ । यातायात व्यवस्था विभागका महानिर्देशक लावण्यकुमार ढकालले सातवटै प्रदेशबाट प्रिन्ट हुने तयारी भइरहेको स्वीकार्दै नेपाल समाचारपत्रसँग भन्नुभयो,‘विभागले अहिले प्रिन्ट गरिरहेको छ, तर अब विभागमा रहेको कार्डमात्र प्रिन्ट हुन्छ किनकि विभागको काम त्योभन्दा पनि नीति निर्माण गर्ने र मापदण्ड बनाउने हो ।’